काठमाण्डु– प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारसंग सत्ता साझेदारी गर्ने विषयमा जसपाभित्र चर्को विवाद देखिएको छ । जसपाका अध्यक्ष महन्थ ठाकुर नेताहरु राजेन्द्र महतो,अनिल झा र राजकिशोर यादवलगायत माग सम्वोधन भए ओलीसंगै साझेदारी गरेर जानुपर्ने पक्षमा छन् भने उपेन्द्र यादव,बावुराम भट्टराई र राजेन्द्र श्रेष्ठ माग पुरा भएपनि ओलीको नेतृत्व स्विकार गर्न नहुने पक्षमा देखिएका छन् । तर, यादव भित्रैको एउटा समुह सरकारले मुद्दाको सम्बोधन गरे ओलीसंगै साझेदारी गरेर जाने पक्षमा छ । जसको नेतृत्व पुर्वमन्त्री इस्तियाक राईले गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भने जसपासंग समझदारी गरेर अघि बढ्ने तयारीलाई अन्तिम रुप दिएका छन् । त्यसका लागी माग सम्बोधनको प्रक्रिया उनले सुरु गरिसकेका छन् ।
जनता समाजवादी पार्टीको केन्द्रिय कार्यकारणी समिति ५१ सदस्यिय छ । त्यसमध्ये रेशम चौधरी अहिले जेलमा छन् । हाल रहेको ५० सदस्यिय समितिमा २५ जना उपेन्द्रको पक्षमा रहेको बताइन्छ भने २५ जना ठाकुरको पक्षमा छन् । धेरैले पुर्वमन्त्री समेत रहेका जसपा नेता महेन्द्र यादव ठाकुरलाई छोडेर यादवसंग सहकार्य गर्न लागेको बताइन्छ । पार्टीमा बराबरीकै अवस्था रहेपनि संसदिय दलमा भने महन्थ ठाकुरको पक्षमा बहुमत छ ।
जसपा सत्तासाझेदारीको विषयमा विवाद सुरु भएसंगै सांसदहरु को कसको पक्षमा लाग्छन् भने हिसाव जसपाभित्र सुरु भएको छ । जसपाका नेताहरु आफ्नो पक्षमा बहुमत जुटाउन सक्रिय भएका छन् । प्रतिनिधिसभामा जसपाका ३४ सांसद छन । जसमध्ये दुई सांसद हरिनारायण रौनियार र रेशम चौधरी निलम्बित छन्।
बांकी ३२ सांसदमध्ये पूर्वराष्ट्रिय जनता पार्टीबाट निर्वाचित १६ र पूर्वसमाजवादी पार्टीबाट निर्वाचित १६ जना छन्। पुर्व राजपा र पुर्व समाजवादी पार्टी मिलेर जसपा भएपनि पार्टीमा संगठनको समायोजन भने अहिलेसम्म हुन सकेको छैन । पछिल्लो समय पार्टीमा विवाद झन् उत्कर्षमा पुगेको छ ।
जसपाभित्र यतिबेला सवैभन्दा निर्णायक समुह युवा नेता इस्तियाक राईहरुको भएको छ । जसमा रेणु यादव, विमल श्रीवास्तव, रुहीनाज,प्रदीप यादव, र उमाशंकर अरगरैया छन् । यो समुहले ठाकुरलाई साथ दिएको अवस्थामा संसदिय दलमा उनको बहुमत पुग्ने निश्चित छ । उनिहरु मधेषका मुद्दा सरकारले पुरा गरेको अवस्थामा सरकारमा जानुपर्ने पक्षमा छन् । नभए पुर्व समाजवादी पार्टीका केही नेताहरु राजपातिर लाग्ने र पार्टी नै विभाजन हुन सक्ने अवस्था पनि छ ।
‘उपेन्द्र यादवसंग पुर्व समाजवादी पार्टीका ८ जना सांसद असन्तुष्ट छन्, उनिहरु माग सम्बोधन भएको अवस्थामा प्रधानमन्त्री ओलीसंगै सत्तासाझेदारी गर्नुपर्नेमा छन् । तर यादव र भट्टराई भने माग पुरा भएपनि ओली नेतृत्वको सकारमा जान नहुने अडानमा छन् । त्यो अवस्थामा पार्टी विभाजन हुन सक्छ ।’ जसपा स्रोतले काठमाण्डुपाटीसंग भन्यो ।
जसपा नेता राईले आफूहरु कसैको पक्षमा नभएको बताए । ‘पार्टी कुनै दुई जना व्यक्तिले मात्र चलाउने कुरा हुंदैन,पार्टीमा सामुहिक निर्णय हुनुपर्छ भन्नेमा पक्षमा म छु । ’ उनले भने ।
पुर्व समाजवादी पार्टीको यो समुह ओलीले मुद्दा सम्बोधन गरे सरकारमा जाने पक्ष्ँमा छ । तर, उनिहरुले समाजवादी पार्टीभित्र उपेन्द्रसंग भन्दा आफुहरुसंग सांसदको संख्या बढी भएको भन्दै मन्त्रीमण्डल विस्तार गर्दा आफुहरुसंग समझदारी गरेर जानुपर्ने अडानमा छ । जसका लागी जसपा अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो उनिहरुसंग निरन्तर छलफलमा जुटेका छन् ।
जसपामा प्रधानमन्त्री ओलीको सरकारमा जाने विषयमा विवाद बढ्दै जांदा कतिपयले पार्टी विभाजन समेत हुन चिन्ता व्यक्त गरेका छन् ।
जसपाभित्रको पूर्व राजपाको समुह महेन्द्र यादव एक जना बाहेक १५ जना अध्यक्ष ठाकुरको पक्षमा छन् । ठाकुरलाई पुर्व समाजवादीका ६ देखी ८ जनासम्म सांसदहरुले सहयोग गर्न सक्ने स्रोतको दावी छ ।
राजपा एकतावद्ध भएको अवस्थामा ठाकुरसंग २० देखी २४ जना सांसदको संख्या पुग्नेछ । त्यसका लाग दुवै समुहभित्र तिव्र छलफल चलिरहेको छ । यादवभित्रको उपसमुहले ठाकुरलाई सहयोग गरेर जाने सम्भावना धेरै छ । उनिहरु उपेन्द्र यादवसंग असन्तुष्ट छन् ।
जसपाको विवाद केन्द्रमा मात्र नभई प्रदेशमा समेत देखा परेको छ । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलको सरकार जोगाउन समेत जसपा निर्णायक अवस्थामा छ । ६ जना सांसद रहेको जसपाका एक जना सांसदले पोखरेललाई सहयोग गरेका छन् भने बांकी ५ जना पुर्व समाजवादी पार्टीका सांसद उनलाई सहयोग गर्ने पक्षमा देखिएका छैनन ।
नेताहरु उपेन्द्र यादव र इस्तियाक राईको पक्षमा प्रदेश सांसदहरु शाहसराम यादव,विजय यादव,सुमन रायामाझी,पुर्णमति ढेंगा र सन्तोष पाण्डेय रहेका छन । प्रदेश सांसद कल्पना लम्शाल पौडेल भने अध्यक्ष ठाकुर र सर्वेन्द्रनाथ शुक्लको पक्षमा छन् । माओवादी केन्द्रसंग लुम्बिनी प्रदशेमा सत्तासाझेदारी गर्ने विषयमा राई सक्रिय छन् । लुम्बिनीमा उनि नै निर्णायक अवस्थामा छन् ।




प्रतिक्रिया