काँग्रेसको नाराबाजीबीच प्रदेश १ को अधिवेशन अन्त्य

काँग्रेसको नाराबाजीबीच प्रदेश १ को अधिवेशन अन्त्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रदेश नम्बर–१ प्रदेशसभाको हिउँदे अधिवेशन प्रमुख प्रतिपक्षी कांग्रेसको विरोधकाबीच अन्त्य भएको छ ।

पछिल्लोपटक सरकारले विनियोजन गरेको बजेट, दीर्घकालीन महत्वका योजनामा भएको प्रगति, निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमलगायत विषयमा सरकारको जवाफ माग्दै विपक्षी दलले प्रदेशसभा बैठक पटक–पटक अवरोध गर्दै आएका थिए ।

यसबारे सरकारले स्ष्ट जवाफ दिनुपर्ने कांग्रेसको माग थियो । बैठकमा विपक्षीको कुरा राख्न सभामुख प्रदीपकुमार भण्डारीले समय दिएपछि प्रमुख विपक्षी नेपाली कांग्रेसका केदार कार्कीले सरकारको जवाफ आउनुपर्ने माग गरे । तर, सभामुख भण्डारीले प्रदेश प्रमुखको कार्यालयबाट अधिवेशन अन्त्यसम्बन्धी प्राप्त पत्र पढेर सुनाई हिउँदे अधिवेशन अन्त्य भएको घोषणा गरे ।

त्यसपछि विपक्षी दलका सांसदले सरकारले जवाफ दिनुपर्ने मागसहित नाराबाजी गरेका थिए । विपक्षीले उठाएको मागको सम्बन्धमा मुख्यमन्त्री शेरधन राईले जवाफ भने दिएनन् । कांग्रेस सांसद लोक प्रसाद संग्रौलाले सरकार संसदबाट भाग्न खोजेको बताए ।

काठमाण्डुपाटीसंगको कुराकानीमा उनले सरकार स्वयच्छाचारी ढंगबाट अघि बढेको बताए । जनताप्रति उत्तरदायी बन्नुपर्नेमा संसद छल्न खोजेको उनको भनाइ छ । साथै उनले सरकारले विकासका योजना निर्माणमा समेत चासो नदिएको बताए ।