काठमाण्डु – नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले आफूले पार्टी विभाजन गर्न र नयाँ पार्टी खोल्न कुनै भूमिका नखेलेको बताएका छन् ।
पार्टी अध्यक्ष एवं प्रधानामन्त्री केपी शर्मा अोलीले सोधेको स्पष्टिकरण पत्रको जवाफ दिँदै नेता पाण्डेले आफूले नेपालको संविधानको धारा ८९(ङ) र राजनीतिक दलसम्बन्धी उक्त प्रावधानको विपरीत कुनै काम गरेको नगरेको बताएका छन् ।
‘नयाँ राजनीतिक दल खोलेको, खोल्न लगाएको, चलाएको वा चलाउन लगाएको पनि छैन । बरु श्री सर्वोच्च अदालतको फैसला अनुरुप नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सबै संरचनाहरु पूर्ववत् क्रियाशील हुनुपर्नेमा जोड दिइरहेको छु । म नेपाल कम्युनिष्ट पार्टी (एमाले) को नवौं राष्ट्रिय महाधिवेशबाट केन्द्रिय सदस्यमा निर्वाचित व्यक्ति भएकोले यस पार्टीको नाम, झण्डा, नीति र कार्यक्रमको प्रतिरक्षा गर्दै सो प्रयोजनका लागि विभिन्न कार्यक्रममा क्रियाशील हुनु मेरो दायित्व हो’, उनले भनेका छन् ।
नेता पाण्डेले गत चैत्र ४ र ५ गते ललितपुरमा आयोजित नेपाल कम्युनिष्ट पार्टी (एमाले) को राष्ट्रिय कार्यकर्ता भेलाले पार्टी एकतालाई मजवुद बनाउने कुरामा नै जोड दिएको बताएका छन् ।
‘जनताको मतबाट निर्वाचित प्रतिनिधि सभाको पद नै समाप्त गरिदिने आयसको पत्र लेख्नु नेपालको संविधान, कानून र नेपाल कम्युनिष्ट पार्टी (एमाले) को नवौं राष्ट्रिय महाधिवेशनबाट पारित विधान तथा मिति २०७७/११/२३ को श्री सर्वोच्च अदालतको फैसला विपरीत छ । र, अन्त्यमा, म के पनि यहाँ उल्लेख गर्न साँदर्भिक ठान्दछु भने पार्टी अध्यक्ष कमरेड केपी ओलीले हाल चालिरहेका कदमहरु पार्टी विधान विपरित त छन् नै, सो भन्दा पनि वढि नेपालको कम्युनिष्ट आन्दोलन नै समाप्त पार्ने प्रकृतिका भएकाले यो सबै प्रकृया अविलम्व रोकी पार्टीलाई एकतावद्ध गर्न आवश्यक पहल गर्न समेत आह्वान गर्न चाहन्छु । अन्यथा, यसले निम्त्याउने दुष्परिणमको भागीदार पार्टी अध्यक्ष नै हुनुपर्ने छ’, उनले भनेका छन् ।




प्रतिक्रिया