नेपाली फुटबलको इतिहासमा पहिलो पटक फ्रेन्चाइज फुटबल, उद्घाटन खेलमा काठमाडौं र ललितपुर भिड्दै


काठमाण्डु – नेपाली फुटबलको इतिहासमा पहिलो पटक फ्रेन्चाइज फुटबल टुर्नामेन्ट हुँदैछ । नेपाल सुपर लिग (एनएसएल) को उद्घाटन खेलमा आज उपत्यकाका दुई टोली काठमाडौं रेजर्स र ललितपुर सिटी एफसी भिड्दैछन् । काठमाडौं र ललितपुरबीचको उद्घाटन खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ ५ः३० बजे सुरु हुनेछ ।

कोभिड–१९ को बढ्दो असरका कारण सरकारले रंगशालमा दर्शकसहितको खेलकुद नगर्न निर्देशन दिएपछि पहिलो पटक हुन लागेको एनएसएल क्लोजर डोरमा हुँदैछ । त्यसैले रंगशालामा प्रवेशमा दर्शकलाई रोक लगाइएको छ । नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टले अखिल नेपाल फुटबल संघ (एन्फा)को प्राविधिक सहयोगमा गर्न लागेको प्रतियोगितामा नेपालका सात शहरको नामबाट फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्दैछन् ।

प्रतियोगितामा नेपालको सात फ्रेन्चाइज टिम विराटनगर सिटी एफसी, काठमाडौं रेजर्स, ललितपुर सिटी एफसी, एफसी चिवतन, पोखरा थण्डर्स, बुटबल लुम्बिनी एफसी र धनगढी एफसीले प्रतिस्पर्धा गर्नेछन् । पहिलो पटक आयोजना हुन लागेको एनएसएलको विजेताले नगद ३५ लाख पुरस्कार पाउने भएका छन् ।

यस्तै उपविजेताले नगद १५ लाख पाउनेछन् । यस्तै विधागत उत्कृष्ट हुने गोलकिपर, डिफेण्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षककोले नगद १–१ लाख प्राप्त गर्ने एनएसएलका निर्देशक श्रेयांश कार्कीले बताएका छन् । यसैगरी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने एक जना राइजिङ खेलाडीले पनि पुरस्कार पाउनेछन् ।

यस बाहेक हरेक खेलको म्यान अफ दि म्याचले २५ हजार प्राप्त गर्नेछन् । यस्तै हरेक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने एक जना इमर्जिङ खेलाडीले पनि १० हजार प्राप्त गर्ने कार्कीले बताए । इमर्जिङ खेलाडीको अवार्डमा ए क्याटेगोरीको खेलाडी र विदेशी खेलाडी समावेश हुने छैन । सिंगल राउण्ड रोविनका आधारमा हुने एनएसएलको फाइनल खेल जेठ १ गते हुनेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement