तुलसीपुरमा २५ श्ययाको आइसोलेशन अस्पताल सञ्चालन

तुलसीपुरमा २५ श्ययाको आइसोलेशन अस्पताल सञ्चालन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ – तुलसीपुर उपमहानगरपालिकाले कोरोनाका सङ्क्रमितलाई लक्षित गरेर २५ श्ययाको आइसोलेशन अस्पताल सञ्चालनमा ल्याएको छ । तुलसीपुर नगरपालिका–८ को अश्वारा सोमबार रातिदेखि अस्पताल सञ्चालनमा आएको हो ।

तुलसीपुर मेट्रो अस्पताल सञ्चालनका लागि बनाइएको भवनमा आइसोलेशन सञ्चालनमा ल्याइएको नगरप्रमुख घनश्याम पाण्डेले बताए । “केही निर्माणको काम बाँकी थियो त्यसलाई चौबिसै घण्टा काम गरेर सम्पन्न गरेपछि अस्पताल सञ्चालनमा आएको हो”, नगरप्रमुख पाण्डेले भने ।

“बेलझुण्डीमा रहेको कोरोना विशेष अस्पतालले बिरामीको चाप थेग्न नसकेपछि गम्भीर प्रकृतिका सङ्क्रमित पनि घरमै उपचार गर्न बाध्य थिए । अब सहज हुनेछ”, नगरप्रमुख पाण्डेले भने । नगरप्रमुख पाण्डेले अस्पताल सञ्चालनमा अहोरात्र खट्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, निर्माणमा खट्ने निर्माण व्यवसायी तथा मजदूर, सहयोगी महानुभाव, कर्मचारी तथा स्थानीयवासीलाई सहयोग गर्ने सबैलाई धन्यवादसमेत दिएका छन् ।

अस्पतालमा चिकित्सकहरु डा. महेशकुमार खनाल, डा देवराज केशी, डा शिव सुवेदी, डा मदन विसी, डा गोकर्ण दाहाललगायतको टोली रहेको तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य निरीक्षक तथा फोकल पर्सन बिमल केसीले जानकारी दिए। हाललाई २५ श्यया रहे पनि केही दिनमा ५० श्यया विस्तार गरिने नगरपालिकाले जनाएको छ ।

आइसोलेशन अस्पताल सञ्चालनमा आएसँगै यस क्षेत्रका जनताले निकै खुशी व्यक्त गरेका छन् । सामाजिक अभियन्ता एवम् तुलसीपुर उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष विमल रिजालले जनताप्रति उत्तरदायी काम गरेकामा खुशी व्यक्त गरे । “अब श्ययाको अभावमा जनताले घरमै ज्यान गुमाउनुपर्ने अवस्था रहेन”, रिजालले भने । सो अस्पतालमा पहिलो दिन गएराति तुलसीपुर उपमहानगरपालिका–८ र तुलसीपुर उपमहानगरपालिका–६ निवासी दुईजना कोरोना सङ्क्रमित बिरामी भर्ना भएका छन् ।