काठमाण्डु – लकडाउनका कारण दैनिक ज्यालादारी गरेर जीवन चलाउने मजदुरहरु निकै समस्यामा परेका छन् । निषेधाज्ञा भएपछि उनीहरू कामविहीन बनेका हुन् । उनीहरुमा बिहान–बेलुका के खाने भन्ने चिन्ता थपिएको छ । भोको पेट ओड्ने र ओछ्याउनेसमेत सँगै बोकेर हिँडेका मानिसहरु सडकमा देखिन थालेपछि काठमाण्डुमा रहेका युवाको एक समुहले भोकाहरुलाई भोजन खुवाउन थालेको छ ।
यसमा मकवानपुरका थाहा नगरपालिकाका–१० का युवाहरु सडकमा भोकै हिँड्नेहरुलाई खाना खुवाउन संगठित भएर लागि परेका छन् । विभिन्न शिलशिलामा काठमाण्डुमा रहँदा दुख सुख आदानप्रदान गर्न संगठित युवाहरु अहिले अरुलाई सहयोग गर्दै हिँडेका छन् । बिहान ६ बजे सोह्रखुट्टेको शः शः रेष्टुरेन्टमा खाना तयार पारेर दैनिक ५ सय जना गरिब तथा मजदुरहरुलाई खाना बाँड्ने गरेका छन् ।
‘थाहा युथ इन्भेष्टमेन्ट’का विपद् व्यवस्थापन संयोजक अर्जुन बस्नेत भन्छन्, ‘सुरुवातमा हामी थाहाका साथीहरु मिलेर केही रकम जम्मा गर्ने गथ्र्यौं जसलाई गाह्रो परेको छ उसैले चलाउँथ्यौं, केही सानातिना लगानीबाट आएको रकम खर्च गर्ने गरेका थियौं । तर, अहिले मजदुर तथा रोजगारी गुमेका व्यक्तिहरु देखेपछि त्यही संगठित साथीहरु मिलेर सहयोग अभियान चलायौं ।’
सुरुवातका दिनमा अक्सिजनको अभाव देखिएपछि काम थालेको उनले बताए । संयोजक बस्नेतले भने, ‘दोस्रो चरणको कोरोनाभाइरसको लहर आएपछि अक्सिजनको हाहाकार भयो, म पनि मेरो हजुरआमाका लागि अक्सिजनको सायता खोजिरहेको थिएँ, अक्सिजन खोज्दा निकै दुख भोग्नुपर्यो । मैले भोगेको दुख साथीहरुले पनि देखिरहनुभएको थियो । त्यसपछि हामीले अक्सिजन खोजेर निःशुल्क अक्सिजन सहयोग गर्न थाल्यौं । सुरुवातमा हामीले जम्मा गरेको रकमले काम थाल्यौं तर अहिले धेरै ठाउँबाट सहयोग आएको छ ।’
हालसम्म १ सय भन्दाबढी अक्सिजन सहयोग गरेको उनले बताए । सबै साथीहरु मिलेर खाना तयार गर्ने गरेको उनले सुनाए । उनले भने ‘हामी ६ बजे सबै जम्मा हुन्छौ अनि काम बाढफाड गछौँ कोही तरकारी किनेर ल्याउछौँ, कोही टिफिन बनाउछौ कसैले पकाउछौँ । पहिला सुरुवातमा हामी आठ जनामात्र थियौं । तर, अहिले हाम्रो काम देखेर सहयोग गर्न अन्स साथीहरुपनि आउनुहुन्छ । सबैको सहयोगले खाना पकाएर टिफिनमा प्याक गछौँ ।’
टिफिनमा प्याक भएको खाना बोकेर अति विपन्न व्यक्तिहरुलाई बाढ्न निस्कने युवाहरुको दैनिकी बनेको छ । मजदुरहरुको बसोबास रहेको डल्लु पुल, स्वयम्भु, कलंकी, कालिमाटी पुगेर खानाको प्रतिक्षा गरिरहेका नागरिकहरुलाई उनीहरुले बिहानमा खाना खुवाउँदै आएका छन् ।
यस्तै थाहा युथ इन्भेष्टमेन्टका अध्यक्ष कुष्ण कार्कीले सहयोगी हातहरुले गर्दा नै खाना खुवाउने अभियानलाई निरन्तरता दिन सकिएको बताए । उनले भने, ‘हामीसंग भएको बजेटलेमात्र कहाँ पुग्थ्यो र हाम्रो अभियानलाई देखेर देश तथा विदेशमा रहेका साथीहरुले पनि सहयोग गर्नुभएको छ अहिले धेरैको सहयोग पाएका छौँ ।’
उनले सहयोग गर्ने सबैलाई आभार प्रकट गरेका छन् । साथै उनीहरुले गरेका दैनिक कामहरुलाई फेसबुकबाट समेत जानकारी गराउने गरेका छन् । यस्तै युवाहरुमा देशमा जारी लकडाउन कडाइले अभियानै रोकिने हो की भन्ने चिन्तासमेत रहेको छ । विपद् व्यवस्थापन संयोजक बस्नेत भन्छन्, ‘अब लकडाउन झन् कडाइ गर्ने सुनेका छौँ । हामीलाई खाना बाड््न दिइन्छ कि नाई त्यही चिन्ता छ । जे भएपनि गरीबलाई खानाखुवाउने काम बन्द नगरिदिए हुन्थ्यो !’




प्रतिक्रिया