काठमाण्डु – नेपालगन्जस्थित भेरी अस्पतालको कोभिड वार्डको ड्युटीमा खटिएका स्वास्थ्यकर्मीमाथि आक्रमण भएको घटनाको सर्वत्र आलोचना भएको छ ।
स्वाथ्यकर्मीहरुका पेशागत संगठनहरुले दोषीलाई हदैसम्मको कारवाहीको माग गरेका छन् । नेपाल चिकित्सक संघले भेरी अस्पतालमा बिहीबार राती भएको घटनालाई कालो दिनको रुपमा घोषणा गरेको छ ।
संघले एक विज्ञप्ति जारी गर्दै भेरी अस्पतालमा डाक्टर तथा नर्स कुटेको घटनालाई कालो दिन घोषणा गर्दै सबै फ्रन्टलाइनर, चिकित्सक तथा स्वास्थ्यकर्मीलाई शुक्रबार कालोपट्टी बाँधेर काम गर्न अपिल गरेको हो ।
भेरी अस्पतालमा बिहीबार राती ड्युटीमा रहेका चिकित्सक तथा स्वस्थ्यकर्मीलाई मनोबल बढाउनुको सट्टा हातपात गर्ने, घाँटी थिचेर लखेटी लखेटी पिट्ने र अस्पतालमा समेत तोडफोड गर्ने कार्य भएको भन्दै संघले स्वास्थ्यकर्मी असुरक्षित रहेको जनाएको छ ।
यस्तै सरकारी चिकित्सक संघ गोदानले पनि घटनाको निन्दा गर्दै दोषीलाई हदैसम्म कारबाहीको माग गर्दै अपराध मुद्दा चलाई कारबाही गर्न सरकारसँग माग गरेको छ ।
यता नेपाल नर्सिङ संघले पनि घटनाको विरोध गरेको छ भने राष्ट्रिय स्वास्थ्यकर्मी संघले दोषीलाई कारबाही नगरे स्वास्थ्यकर्मीले देशभर आन्दोलन चर्काउने चेतावनी दिएको छ ।





प्रतिक्रिया