एमालेकै नेता गणतन्त्र विरोधी थिए : वामदेव गौतम

एमालेकै नेता गणतन्त्र विरोधी थिए : वामदेव गौतम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले शहीदको सपना साकार पार्न दृढतापूर्वक उभिन आह्वान गरेका छन् । गणतन्त्र दिवसको शुभकामना दिंदै गौतमले राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापनामा हजारौं नेता–कार्यकर्ता तथा जनताको सहादत, त्याग र समर्पण रहेको भन्दै उनले सहिदको सपना साकार पार्नका लागि दृढतापूर्वक अघि बढ्नुपर्नेमा जोड दिएका हुन् ।

गौतमले गणतन्त्र ल्याउन योगदान दिने नेताहरुको नाम समेत उल्लेख गरेका छन् । नेपाली काँग्रेसका सभापति गिरिजाप्रसाद कोइराला, नेकपा एमालेका महासचिव माधवकुमार नेपाल र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई गणतन्त्र स्थापनाका महानायकको संज्ञा दिएका छन् ।

‘वि.सं. २०६५ जेठ १५ गतेको अवस्थामा नेपाललाई पु¥याउने युगान्तकारी संघर्षका महानायकहरू भने नेपाली कांग्रेस पार्टीका सभापति गिरिजाप्रसाद कोइराला, नेकपा (एमाले) का महासचिव माधवकुमार नेपाल र नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दहाल (प्रचण्ड) हुनुहुन्थ्यो,’ विज्ञप्तिमा उल्लेख छ ।

गौतमले त्यसबेला गणतन्त्रको विपक्षमा एमालेकै नेताहरु उभिएको भनेका छन् ‘विडम्बना नै भन्नुपर्छ नेकपा एमालेको केन्द्रीय कमिटीको बहुमतले तत्कालीन संघर्षको मुख्य नारा राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापना तय गर्दा चर्चित झापा संघर्षका विभिन्न पार्टीमा रहेका मुख्य तीन नेता विरुद्धमा हुनुहुन्थ्यो । त्यो बैठकमा अब संघर्षको मुख्य नारा गणतन्त्रको स्थापना हुनुपर्छ भनेर लिखित प्रस्ताव राख्ने व्यक्ति म थिएँ’, गौतमले विज्ञप्तिमा लेखेका छन् ।