उज्वल थापाको परिवारले भन्यो- दुर्गा प्रसाईँको सहयोग चाहिँदैन

उज्वल थापाको परिवारले भन्यो- दुर्गा प्रसाईँको सहयोग चाहिँदैन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  विवेकशील साझाका पूर्व संयोजक उज्वल थापाको परिवारले मेडिकल व्यवसायी दुर्गा प्रसाईंले गर्ने भनेको सहयोग आवश्यक नपर्ने जनाएको छ । खर्च धेरै लाग्ने भन्दै थापाका शुभेच्छुकले आर्थिक सहयोगको लागि सार्वजनिक अपिल गरेका थिए ।

सार्वजनिक अपिल अनुसार उपचारको लागि पैसा उठेपछि सोही पैसाबाट उपचार गराउने भन्दै प्रसाईंले गर्ने भनेको सहयोग नलिने परिवारले जनाएको हो । आज सूचना जारी गर्दै प्रसाईलाई धन्यवाद दिँदै सहयोग आवश्यक नपर्ने जनाएको हो ।

‘चिकित्सकहरूको सल्लाहमा उज्वललाई थप अत्याधुनिक उपचार आवश्यक पर्ने देखिएपछि र त्यस उपचारको लागि लाग्ने खर्च व्यहोर्नको लागि परिवारको सहमतिमा उहाँका साथी तथा शुभचिन्तकहरूले क्राउडफन्डिङबाट आर्थिक सहयोग जुटाइरहेको पनि विदितै छ ।

यस क्रममा हालसम्म गोफन्डमीमा खोलिएको खातामा अमेरिकी डलर २२,२९१ र नेपालमा बैंक खातामा करिब २६,५०,००० जम्मा भएको छ । त्यस खातामा सहयोग गर्ने उज्वलका साथी, शुभेच्छुक तथा आफन्तजन सबैप्रति हामी कृतज्ञ छौँ र तपाईंहरूले व्यक्त गर्नुभएको सद्भाव, सदिच्छा तथा प्रार्थनाको लागि हामी आभारी छौँ ।

उज्वलको स्वास्थ्यप्रति तपाइहरूको साथले हामीलाई आड भरोसा मिलेको छ’ शुभेच्छुक र परिवारको तर्फबाट जारी गरिएको विज्ञप्तिमा उल्लेख छ, ‘सहयोग संकलनको क्रममा उज्वल थापाको उपचार खर्च आफूले व्यहोर्ने भनी दुर्गा प्रसाईंले भन्नुभएको भन्ने सञ्चार माध्यममा प्रकासन र प्रसारण भएको खबर हाम्रो जानकारीमा आएको छ ।

हाल उज्वल थापाको परिवार, आफन्तजन, साथी तथा शुभेच्छुकहरूबाट प्राप्त सहयोगले नै स्वास्थ्य उपचारको खर्च व्यहोरिरहेको र भविष्यमा पनि त्यसै गर्ने भएकोले श्री दुर्गा प्रसाईंलाई सद्भावको लागि धन्यवाद ज्ञापन गर्दै उहाँले दिने भनेको सहयोग आवश्यक नपर्ने ब्यहोरा जानकारी गराउँदछौँ ।’