काठमाण्डु — नेपालमा पछिल्लो समय कालो ढुसी अर्थात म्युकोर्माइकोसिस संक्रमण बढ्दै गइरहेको छ ।
कोरोना संक्रमणले जनजीवन नराम्ररी प्रभावित भइरहेका बेला संक्रमणमुक्त भएकाहरुमा म्युकोर्माइकोसिसको संक्रमण देखिएपछि मानिसहरुमा चिन्ता र त्रास बढेको छ । छिमेकी मुलुक भारतमा कालो ढुसीबाट संक्रमित हुनेका संख्या २८ हजार २५२ पुगेको छ ।
यसबाट संक्रमित हुनेमध्ये अधिकांश मानिसहरु कोरोनाबाट हालै मात्र निको भएका मानिसहरु छन् । यति धेरै मानिसमा कालो ढुसीको संक्रमण देखिनुलाई असामान्य मानिएको छ । कोभिड १९ श्वासप्रश्वासम्बन्धी संक्रमण भएकाले यसले विशेषगरी फोक्सो र रक्तसञ्चारमा दीर्घकालीन असर निम्त्याएको पाइएको छ ।
कालो ढुसीको संक्रमण नेपालमा पनि बढ्दै जाँदा यो संक्रमण कसरी हुन्छ, कस्ता व्यक्तिहरुमा देखा पर्छन् ? लक्षण के हुन सक्छ ? यसको निधान के होला ? लगायतका बारेमा सर्वसाधरण नागरिकको चासो बढ्दो छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलका अनुसार नेपालमा हालसम्म कम्तिमा पनि १२ जनामा म्युकरमाइकोसिस संक्रमण पुष्टि भएको छ । यो रोगबाट १ जनाको मृत्यु भइसकेको छ ।
भारतमा मधुमेह भएका मानिसको संख्या ठूलो भएकाले उनीहरुमा कालो ढुसीको संक्रमण बढेको चिकित्सकहरु बताउँछन् । तर यो संक्रमणको लागि मधुमेह मात्र कारण भने होइन ।
दुर्लभ मानिने यो संक्रमण ओसिलो ठाउँमा हुने जोखिम बढी छ । जब मानिसको रोग प्रतिरोधात्मक क्षमता निकै कमजोर हुन्छ, त्यतिबेला यसको संक्रमण हुने जोखिम बढी हुन्छ ।
पछिल्लो समय नेपालमा अनुहार, नाक, मुख, आँखा वरिपरि दुख्ने, आँखा र नाक सुन्निने, रातो हुने वा दुख्ने, नाकको वरिपरिको छालाको रंग कालो हुँदै जाने, नाकबाट रगत जस्तो तरल पदार्थ बग्ने, बाक्लो सिँगान आउने, आँखाको ढकनी सुनिने र दुख्ने, आँखाले धमिलो देख्ने, दाँत दुख्ने वा हल्लिने, टाउको भारी हुने, ज्वरो आउने, अचेत हुने, बरबराउने जस्ता कालो ढुसीको संक्रमण कोभिड–१९ संक्रमित वा संक्रमण मुक्त भएका व्यक्तिहरुमा देखिएका छन् ।
यो संक्रमण बिरलै देखिन्छ, तर संक्रमण गम्भीर भए प्राणघातक पनि हुनसक्ने भएकाले समयमै ध्यान पु¥याउनु आवश्यक छ ।
यस्ता व्यक्तिमा हुनसक्छ बढी जोखिम
यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दैन । तर यो संक्रमण निकै गम्भीर हुन्छ । संक्रमण बढ्दै जाँदा रोग प्राणघातक बन्ने र ज्यानै जानसक्ने शिक्षण अस्पताल महाराजगञ्जका नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा. योगेश न्यौपानेले बताए ।
उनका अनुसार यो संक्रमणबाट रोग प्रतिरोधात्मक क्षमता निकै कमजोर भएका अनियन्त्रित मधुमेह, अंगप्रत्यारोपण गरिएका बिरामी र क्यान्सरको उपचार गराइ रहेका बिरामी, कोभिड–१९ को उपचारको लागि अस्पतालमा भर्ना भएका र डिस्चार्ज भएका बिरामी, कोभिड–१९ उपचारका क्रममा स्टेरोइड औषधि प्रयोग गरेका व्यक्तिहरु, चिकित्सकको परामर्शविना एन्टिबायोटिक वा अन्य औषधिको जथाभावी प्रयोग गर्नेहरु फोहोर, ओसिलो तथा हावा राम्रोसँग आउजाउ नहुने क्षेत्रमा बस्नेहरु उच्च जोखिममा पर्ने गर्छन् ।




प्रतिक्रिया