काठमाण्डु – नेकपा एमाले विभाजनको संहारमा पुगेको छ । दुवै पक्षका अडानका कारण पार्टी विभाजनाको डिलमा पुगेको हो । तर, दुवै पक्षका दोस्रो तहका नेताहरु भने पार्टीलाई एकतावद्ध बनाउन कसरत गरिरहेका छन् । शीर्ष नेताको हठका कारण समस्या समाधान हुने सम्भावना निकै कम छ ।
सर्वोच्च अदालतले नेकपा भंग गरिदिएपछि नेपाल पक्षले एमालेलाई ३ जेठ २०७५ मै फर्कनुपर्ने बताउदै आएकोमा ओली पक्षले भने पार्टी धेरै अगाडी बढेकाले सोही मितिमा फर्कन नसकिने अडान लिएपछि नेपाल समूह ओली विरुद्धको मोर्चामा सहभागी भएको छ ।
नेपाल र झलनाथ खनाल समूहले ओलीको विरुद्धमा मोर्चाबन्दी गरेका अन्य दलसंग मिलेर संसद विघटन विरुद्धको रिटमा हस्ताक्षर गरेका छन् । साथै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन जोडबल गरिरहेका छन् । ओलीले देशसंगै पार्टीलाई समेत संकटमा धकेलेको नेपाल खनाल पक्षको आरोप छ ।
यता सत्ता जोगाउन कै लागि ओलीले नेपाल पक्षसंगको एकताका लागि सर्सत हात बढाएका छन् । यदी संसद विघटन भइहाल्यो भने संसदमा कमजोर हुने देखेपछि ओलीले नेपाल खनाल समूहलाई पार्टीमा एकताबद्ध गराउन ६ बुँदे प्रस्ताव सार्वजनिक गरेका थिए । उनले आफू एमालेलाई २०७५ जेठ ३ को अवस्थामा फर्काउन तयार रहेको उल्लेख गरेपनि नेपाल समूहले उक्त प्रस्ताव अमान्य हुने बताएको छ ।
नेता नेपालले उक्त प्रस्तावमाथि विभिन्न आशंका व्यक्त गर्दै प्रधानमन्त्रीको प्रसताव आफूलाई मञ्जुर नभएको बताएका हुन् । तर, प्रधानमन्त्री ओलीको उक्त प्रस्तावलाई नेपाल समूहका दोस्रो तहका कतिपय नेताहरुले सकारात्मक कदम भनेका छन् ।
नेता नेपालले भने नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को एकीकरण २०७५ साल जेठ ३ गते भएकोले सर्वोच्च अदालतबाट नेकपा (एमाले) पुनर्जीवित हुने फैसला भएकाले जेठ २ गते पूर्वको स्थितिमा पार्टी समग्र रुपमा कायम हुनुपर्छ भन्नुपर्नेमा ३ गते पूर्व भन्दै प्रधानमन्त्रीबाट अल्मल्याउने भाषा प्रयोग भएको आरोप लगाएका छन् ।
प्रधानमन्त्री ओलीले आफूलाई सरकारबाट हटाउन गरेको हस्ताक्षर नेपाल समूहले फिर्ता लिनुपर्ने बताएका थिए । तर, नेपाल समूहले उक्त प्रस्ताव ठाडै अस्वीकार गरेको छ । नेपालले विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउने पक्षमा गरेको हस्ताक्षर फिर्ता नलिने अडान राखेपछि एमाले विभाजनको डिलमा पुगेको छ ।
तर, पनि दोस्रो तहका नेताहरु अझैपनि एकतालाई भंग हुन नदिने भन्दै सकृय भएका छन् । तर निरन्तरको प्रयासमा समेत कुनै प्रगति नभएपछि नेताहरुनै आजित भएका छन् । एमाले नेता योगेश भट्टराईले एमाले एकताको मूल समस्या तीन जना शीर्ष नेता भएको बताए ।
उनले अध्यक्ष ओली आफ्नै पार्टीका बरिष्ठ नेता खनाल र नेपालसँग सहकार्य गर्न तयार नहुने तर जनता समाजवादी पार्टीका अध्यक्ष महन्त ठाकुर र राजेन्द्र महतोसँग सत्ता साझेदारी र अन्य बिषयमा गठबन्धन गर्न तयार हुने भन्दै असन्तुष्टी व्यक्त गरेका छन् ।
साथै नेता भट्टराईले खनाल र नेपाल पनि आफ्नै पार्टीका अध्यक्ष ओलीसँग मिल्न तयार नहुने तर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादवसँग सत्ता साझेदारी र अन्य बिषयमा गठबन्धन गर्न तयार हुनुले पार्टी एकतामा समस्या देखिएको बताएका हुन् ।
‘एमालेको एकताको मुल जड ? कमरेड केपी ओली आफ्नै पार्टीका बरिस्ठ नेता कमरेड जे एन खनाल र कमरेड माधव नेपालसँग सहकार्य गर्न तयार नहुने तर महन्त ठाकुर र राजेन्द्र महतोसँग सत्ता साझेदारी र अन्य बिषयमा गठबन्धन गर्न तयार हुने’, उनले भनेका छन्, ‘कमरेड जे एन खनाल र माधव नेपाल आफ्नै पार्टीका अध्यक्ष कमरेड केपी ओलीसँग मिल्न तयार नहुने तर शेरबहादुर देउवा, प्रचण्ड र उपेन्द्रसँग सत्ता साझेदारी र अन्य बिषयमा गठबन्धन गर्न तयार हुने । कस्ले, किन र के कालागि गर्दैछ यो सब ? एमाले एकताको समस्याको मुल जड यहिं छ । यस बिषयमा कमरेडहरु बिचमा गम्भिर छलफल हुनु र साझा निश्कर्सका साथ साझा अभियान मार्फत एमालेको एकता बचाउन जरुरी छ ।’
त्यस्तै नेपाल समूहका नेता गोकर्ण विष्टले पार्टीलाई एकता हुन नदिन अध्यक्ष ओली र नेता नेपाल समूहमा केही अतिवादी व्यक्तित्व रहेको बताए । उनले पार्टीलाई विभाजित गर्न खोज्ने तत्वहरुको खोजी भइरहेको पनि बताएका छन् ।
‘पार्टीभित्र केही अतिवादीहरु छन्, कमरेड केपी ओलीतर्फ पनि केही अतिवादीहरु छन्, जसले पार्टीलाई मिल्न नदिन प्रयत्न गरिरहेका छन्,’ नेता विष्टले भनेका छन्, ‘कमरेड झलनाथ खनाल र माधव नेपाल समूहसँग पनि केही अतिवादी छन्, जसले पार्टीलाई कुनै पनि मूल्यमा विभाजित गर्न चाहन्छन् मिल्न नदिन चाहन्छन् ।’
नेपाल समूहमा अधिकांश नेताहरु एकता भंग गर्ने पक्षमा छन् । खनाल, नेपाल, भीम रावलसहित अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, रघुजी पन्त, मुकुन्द न्यौपाने र बेदुराम भूसाल, रामकुमारी झाँक्री, राजेन्द्र राई, विजय पौडेल, जगन्नाथ खतिवडा, प्रकाश ज्वालालगायतका नेताहरु पार्टी विभाजनको पक्षमा रहेको स्रोतको भनाई छ ।
यता नेपाल समूहका प्रभावशाली नेताहरु अमृतकुमार बोहरा, घनश्याम भूसाल, गोकर्ण विष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, भीम आचार्यसहितका नेता एकताबद्ध हुनुपर्ने पक्षमा रहेका छन् । उनीहरुले पार्टीलाई एकताबद्ध गराउन निरन्तर छलफल जारी राखेका छन् ।
मंगलबार होटल समीटमा अोली र नेपाल पक्षका नेताहरुबीच वार्ता भएको थियो । उक्त वार्तामा संस्थापन पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली र माधव नेपाल पक्षका सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, भीम आचार्यलगायतका नेताहरु सहभागी थिए ।




प्रतिक्रिया