सरकारले क्यान्सर अस्पतालको स्वायत्तता कुण्ठित गर्न खोज्योः कांग्रेस

सरकारले क्यान्सर अस्पतालको स्वायत्तता कुण्ठित गर्न खोज्योः कांग्रेस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसले क्यान्सर संस्थानको अवधारणामा ३ वटा स्थापित क्यान्सर अस्पतालहरुको स्वायत्तता सरकारले कुण्ठित गर्ने नियत राखेको आरोप लगाएको छ ।

अस्पतालहरूको स्वायत्तता कुण्ठित गर्दै राज्य नियन्त्रित अखडा बनाउने नियतलाई नेपाली कांग्रेसले स्वीकार गर्न नसक्ने जनाएको छ ।

बुधबार एक विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बजेटमा सरकारले ल्याएको क्यान्सर संस्थानको अवधारणा मार्फत ३ वटा स्थापित क्यान्सर अस्पतालहरको स्वायत्तता कुष्ठित गर्न खोजिएको भन्दै त्यसलाई फिर्ता लिन चेतावनी दिएका छन् ।

सरोकारवालाहरुले गम्भीर प्रश्न उठाइसक्दा पनि प्रधानमन्त्रीको मौनता जारि रहेको बिषयमा नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

‘क्यान्सर रोगको अध्ययन, अनुसन्धान र उपचारलाई राज्यले थप ब्यवस्थित, प्रोत्साहित र बढावा दिन निश्चयनै जरुरी छ । त्यसका लागि स्थापित स्वास्थ्य प्रतिष्ठानहरू हाम्रो भरपर्दो आधार हुन्,’ विज्ञप्तिमा भनिएको छ ‘त्यसका लागि सक्षम प्रतिष्ठानहरुलाई नै अध्ययन र अनुसन्धानका लागि प्रोत्साहित र सशक्तिकरण गर्ने योजना उपयुक्त हुनेमा त्यसो नगरी अलग्गै विवादास्पद संरचना मातहत ल्याउने र अस्पतालहरुको स्वायत्तता कुण्ठित गर्दै राज्य नियन्त्रित अखडा बनाउने नियत सरकारले राख्नु नितान्त गलत छ ।’

भक्तपुर क्यान्सर अस्पताल, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, बाँकेलाई संस्थान मातहतमा ल्याउने भनेर अध्ययन, विज्ञ परामर्श र सरोकारवालाहरुसँग कुनै छलफल बिना बजेटमा उल्लेख हुनुले नियतलाई प्रष्ट पारेको विज्ञप्तिमा उल्लेख छ ।