विद्यमान संवैधानिक संकटको समाधान सर्वपक्षीय गोलमेच सम्मेलनबाट खोजौंः नेता गिरी

विद्यमान संवैधानिक संकटको समाधान सर्वपक्षीय गोलमेच सम्मेलनबाट खोजौंः नेता गिरी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता पूर्वमन्त्री दिलनाथ गिरीले विद्यमान संवैधानिक संकटको समाधान सर्वपक्षीय गोलमेच सम्मेलनबाट खोज्नु पर्ने बताएका छन् ।

सरकार, प्रतिपक्ष र राष्ट्रपति समेतको भूमिकाबाट संविधान संकटग्रस्त भएको भन्दै नेता गिरीले संवैधानिक राजसंस्था, हिन्दुराष्ट्र र नेत्रविक्रम चन्द पक्षधर समेतको सर्वपक्षीय गोलमेच सम्मेलन प्रस्ताव गरेका छन् ।

‘ठूलो धनजनको क्षति गरेर संविधानको विकल्प खोज्नु भन्दा संवैधानिक राजसंस्था सहितको हिन्दुराष्ट्र र यो संविधानसँग विमति राख्ने नेत्रविक्रम चन्द समेतको सर्वपक्षीय गोलमेच सम्मेलनबाट यो समस्याको समाधान खोजौं । नेपाल र नेपालीको यसैमा कल्याण हुनेछ भन्ने आमधारणा रहेको बुझिन्छ,’ राप्रपाका कार्यसम्पादन सदस्य गिरीले भने ।

नेता गिरीले सामाजिक सञ्जालमा भनेका छन्, ‘विधानमा भएको व्यवस्थालाई सरकार, प्रतिपक्ष र राष्ट्रपतिले समेत पालना नगरेको कारणबाट गम्भीर समस्या उत्पन्न भएको छ ।’ कामै गर्न नसक्ने अवस्थामा संविधान थला परेको उनको भनाइ छ ।

‘नेपालको संविधान २०७२ को भावना र मर्मलाई सरकार र प्रतिपक्षले नबुझेको हो वा बुझ पचाएको ? प्रक्रिया नै पुरा नगरी संविधान विघटन गर्न मिल्दैन अर्थात् धारा ७६ (५) अनुसार प्रधानमन्त्रीको पद रिक्त भएपछि मात्र प्रक्रिया अगाडि बढ्न सक्छ भन्ने संविधानविद्हरूको ठहर छ,’ गिरीले भने ।

‘संविधानअनुसार धारा ७६ को उपधारा ४ प्रयोग नै भएको छैन । यदि उपधारा ५ प्रयोग गर्नुभन्दा अगाडि प्रधानमंन्त्रीले उपधारा ४ अनुसार संसदको विश्वास लिनैपर्छ, नत्र प्रधानमन्त्रीले पदबाट राजीनामा गरी उपधारा ५ अनुसाको सरकार बनाउन मार्ग प्रसस्त गर्नुपर्छ,’ उनले भने, ‘अनिमात्र उपधारा ५ अनुसार प्रधानमन्त्रीबाहेक संसदमा उपस्थित दलहरूका कुनै पनि सदस्यले आधारसहित प्रधानमन्त्री हुनको निमित्त आफ्नो हकदाबी राष्ट्रपतिसमक्ष पेश गर्न सक्ने संविधानमा व्यवस्था भएको कुरा संविधानविद्को धारणा रहेको छ ।’