यस वर्षको मनसुन सुरु, सरकार भन्छः सबै संयन्त्र तयारी अवस्थामा राखेका छौं

यस वर्षको मनसुन सुरु, सरकार भन्छः सबै संयन्त्र तयारी अवस्थामा राखेका छौं

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालमा शुक्रबारदेखि मनसुन सुरु भएको छ । यो बर्ष औसत मिति जुन १३ अर्थात् जेठ ३० गतेभन्दा दुई दिन अगाडि नै मनसुनको आगमन भएको हो । गत वर्ष जुन १२ मा भित्रिएको मनसुन अक्टोबर १२ मा बाहिरिएको थियो । यो वर्ष अघिल्ला वर्षहरूमा भन्दा धेरै पानी पर्ने अनुमान जल तथा मौसम विज्ञान विभागको छ ।

देशको भौगोलिक संरचना अनुसार पहाडमा बाढी, पहिरो तथा तराईमा डुवानको समस्या हुने गर्दछ । यस वर्ष सरकारले तयार पारेको सम्भावित सूची अनुसार २३ जिल्लाका १७ लाख बासिन्दा बाढीबाट र २६ जिल्लाका १ लाख २० हजार बासिन्दा पहिरोबाट प्रभावित हुने अनुमान छ । तर, वर्षा शुरू हुनै लाग्दा पनि सम्भावित जोखिम रोक्ने पूर्वतयारी अत्यन्त फितलो हुने गरेको गुनासो नआएको होइन ।

गुनासो बर्षैपिच्छे आउने गरेको छ । बर्षातको समयमा मात्र सरकारी सम्यन्त्रले चासो देखाउने गरेको सर्वसाधारणको आरोप छ । यता गृहमन्त्रालयले भने जोखिम प्रतिकार्य योजना बनाउन मातहतका निकायलाई निर्देशन दिइसकेको छ ।

सम्भावित क्षति न्युनिकरणकालागि मातहतका सबै निकायलाई योजना बनाउँदै स्थानिय सझेदारहरुसंग पनि समन्यव गर्न निर्देशन दिएको राष्ट्रिय आपतकालिन कार्य सञ्चालन केन्द्रका प्रमुख दिलकुमार तामाङले बताए ।

उनी भन्छन्, ‘मन्त्रालयले तयारी गर्ने सन्दर्भमा मातहतको जिल्ला विपद् व्यवस्थापन समिति जसलाई प्रमुख जिल्ला अधिकारीले नेतृत्व गर्नुहुन्छ । त्यो ७७ वटै जिल्लाको सम्यन्त्रलाई स्थानिय विपद् व्यवस्थापन समिति र जिल्लामा विपद् व्यवस्थापन क्षेत्रमा क्रियाशिल अन्य सामुदायिक संघ संस्थासंग समेत सहकार्य गरेर मनसुन प्रतिकार्य योजना बनाउने, जिल्लाको विशिष्टताको आधारमा प्रतिकार्यका लागि तयारी रहन मन्त्रालयले निर्देशन दिइसकेको छ ।’

राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०६८ साल वैशाख १ देखि २०७७ चैत ३१ सम्मको अवधिमा पहिरोबाट १२ सय ५ जनाले ज्यान गुमाए भने २९७ जना बेपत्ता भएका भइसकेका छन् । यो बर्ष कोरोना महामारीसंगै प्रकृतिक प्रकोपसंग पनि जुद्धनुपर्ने चुनौती छ ।

यस्तो अवस्थामा देशका सबै शक्ति नै जोखिम न्युनिकरणमा लागिपरेको तामाङको भनाई छ । उनले भने ‘मन्त्रालय, प्राधिकरण प्रदेश विपत व्यवस्थापन परिषद्, प्रदेश कार्यकारी समिति त्यसैगरी जिल्लामा रहेको जिल्ला विपद् व्यवस्थापन समिति, स्थानिय स्तरमा रहेको स्थानिय व्यवस्थापन समितिले कोरोना संगै विपद व्यवस्थापनमा समन्यवय गरेर काम गरिरहेका छौँ ।’

यस्तै गृहमन्त्रालयले मनसुनजन्य जोखिम नियन्त्रण गर्न स्थानिय तहसम्मै आवश्यक सामाग्री पठाएको छ । जोखिममा रहेका जिल्लाहरु छुट्टाएर आवश्यक तयारी गरीरहेको गृहमन्त्रालय अन्तर्गतकै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक अनिल पोखरेलले बताए ।

उनी भन्छन्, ‘जोखिमका जिल्लाहरु छुट्टाएर कुनकुन नगरपालिका, गाउँपालिकामा प्रतिकार्यका लागि कति सुरक्षाकर्मी आवश्यक पर्छन् त्यो सबै हामीले काम गरिसकेका छौँ । साथै राहत चाइन्छ त्यसको व्यवस्थापन पनि गरेका छौँ ।’

क्षति कम गर्नकालागि सरकारले कलस्टर बनाएर काम अगाडी बढाएको जनाएको छ । रेस्पोन्स, राहत, पोषण, खानेपानीलगायतको व्यवस्थापनका लागि कलस्टर बनाएको बताइएको छ । विगतको बर्षहरु भन्दा यो बर्ष जोखीम कम गर्न सरकारले आफ्नो ठाउँबाट काम गरिरहेको दाबी गरेको छ ।

जल तथा मौसम विज्ञान विभागले यसअघि नै मुलुकमा मनसुनमा सरदर भन्दा बढी पानी पर्ने आंकलन सार्वजनिक गरिसकेको छ । उक्त चेतावनीसँगै आम नागरिक र सरोकार राख्ने निकाय थप सावधानी र सचेत हुनुपर्ने छ ।