कोरोनाको खोप लगाएपछि शरीरमा धातु टासिने विषयमा सत्यता छैनः डा पुन

कोरोनाको खोप लगाएपछि शरीरमा धातु टासिने विषयमा सत्यता छैनः डा पुन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अहिले विश्वमै कोरोना भाइरसविरुद्ध खोप लगाउने अभियान चलिरहेको छ । नेपालमा पनि यो भाइरसविरुद्धको खोप अभियान जारी छ ।

खोप लगाएपछि कसैलाई ज्वरो आउने, कसैलाई शरीर दुख्ने त कसैलाई कमजोरी महसुस हुने जस्ता सामान्य असर देखिएको सुनिँदै आएको छ । तर केही समयअघि भारतका एक व्यक्तिको शरीर खोप लगाएपछि चुम्बक बनेको समाचार सार्वजनिक भएको थियो ।

भारत महाराष्ट्र पुणेका अरविंद सोनारले आफुले कोरोनाको दुवै डोज खोप लगाएपछि आफ्नो शरीर चुम्बक जस्तै भएको दावी गरेका छन् । उनले प्रमाणस्वरुप सामाजिक सञ्जालमा एक भिडियो नै सार्वजनिक गरेका थिए । उबकत भिडियोमा उनको शरीरमा सिक्का, चम्चा, पनिऊ, थाल टाँसिएको देख्न सकिन्छ ।

तर त्यसको केहि दिनपछि नेपालमा पनि त्यस्तै घटना भएको सार्वजनिक भएको छ । ५ दिन अघि मात्रै कोरोनाविरुद्धको भेरोसेल खोप लगाएकी असनकी ६० वर्षकी संगिता तिमिलाको शरीर चुम्बक जस्तै भएको छ । मध्यपुर हस्पिटल तथा कोरियन नेपाल अस्पतालका अर्थोपेडिक सर्जन डा. मनिष प्रधानाङ्गले फेसबुकमा भिडियो सार्वजनिक गरेका छन् ।

सामाजिक सञ्जालमा उक्त भिडियो सार्वजनिक भएपछि हामीले संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनलाई यसबारे जिज्ञासा राखेका थियौं । उनले कोरोना विरुद्धको खोप लगाएपछि शरीरमा धातु टासिने विषयमा सत्यता नभएको बताए । उनले खोप लगाउनुभन्दा पहिला कस्तो थियो ? खोप लगाएपछि कस्तो भयो भन्नेबारे परीक्षण नै नगरी यस्तो दाबी गर्न नमिल्ने बताए । डा पुनले यस विषयमा अनुसन्धान गर्न सकिने भएपनि अहिले आएका कुरा हल्ला मात्रै भएको बताए ।

त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक प्रचार सामग्री बनाएर कोभिड—१९ को खोपहरुमा कुनै प्रकारको धातु वा माइक्रोचिप्सहरु नहुने भएकाले यस्ता अफवाहमा विश्वास नगर्न आग्रह गरेको छ । कोभिड—१९ को खोप सुरक्षित र प्रभावकारी भएकाले यसले स्वास्थ्यमा कुनै प्रतिकूल असर नगर्ने भएकाले महामारीको बेलामा भ्रमको पछि नलाग्न र नफैलाउन मन्त्रालयले सबैमा आग्रह गरेको हो ।