काठमाण्डु – नेपाल सी.आर.एस कम्पनीले परिवार योजना सम्बन्धि ‘मेरी संगिनी’ नामक मोबाइल एप शुरू गरेको छ । अस्थाई र छोटो अवधिका परिवार योजनाका साधनहरुबारे बिस्तृत जानकारी दिने उदेश्यले मेरी संगिनी मोबाइल एप शुरू गरिएको हो ।
मेरी संगिनीबाट प्रदान गरिएको अस्थाई तथा छोटो अवधिका परिवार योजनाका साधनहरु सम्बन्धि तथा सो साधनको प्रयोगबाट पर्न जाने असरहरुको समेत जानकारी प्रजनन उमेरको जो कोहिलाई अति उपयोगी हुने भएता पनि बिशेष गरि किशोर तथा किशोरी एबम नवविवाहित जोडीहरुलाई अत्यन्त उपयोगी रहने नेपाल सी आर एस कम्पनीले जानकारी दिएको छ ।
एपमा भएको ‘प्राय सोधिने प्रश्नहरु’ ले परिवार योजनाका अस्थाई तथा छोटो अवधिका साधन प्रयोगकर्ताहरुलाई अझ बिस्तृत जानकारी दिनुको साथै सम्भाव्य प्रयोगकर्ताहरुलाई साधनहरुको सुसुचित छनौट गर्न मदत गर्ने छ । साथै एपमा आफु नजिकैको अस्थाई तथा छोटो अवधिका परिवार योजनाका साधन उपलब्ध गराउने औशधि पसल, क्लिनिक र संगिनी सेवा केन्द्रको ठेगाना र नक्शा पनि उपलब्ध हुने हुँदा आफु नजिकैको तालिम प्राप्त र दक्ष्य सेवा केन्द्रबाट आफुलाई उपयुक्त हुने साधनको सेवा समेत लिन मदत गर्ने छ ।
परिवार कल्याण महाशाखाका निर्देशक डा.तारा नाथ पोख्रेलले परिवार योजनाका साधनहरुको पहुच बढाउनका निम्ति मोबाइल प्रविधिको भूमिका अत्यन्त महत्वपुर्ण रहेको र मेरी संगिनी एपले उपभोक्ताहरुलाई अस्थाई गर्वनिरोधक साधन बारे सुसुचित छनौट गर्न सहयोग पुर्याउने बताएका छन् ।
साथै राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा संचार केन्द्रका निर्देशक डा. राधिका थपलियाले यो एपले परिवार योजना र यस सम्बन्धि विषयमा बिस्तृत जानकारी सजिलो संग हासिल गर्न मदत हुने बताएकी छन् ।
नेपाल सी आर एस कम्पनीका प्रबन्ध निर्देशक जिबलाल पोखरेलले मातृ मृत्युदर घटाउन परिवार योजनाको ठुलो भमिका रहेको र प्रयोगकर्ता माझ सहि र अद्यावधिक सूचनाको पहुच बढाउनमा संचार प्रविधिको ठुलो महत्व रहेको बताएका छन् । साथै यस एप मार्फत सेवा प्रयोगकर्तालाई सेवा प्रदायक संग सजिलै जोड्न सक्ने सम्भावना भएको हुँदा सेवाग्राहीहरुलाई सेवाको पहुँच बढाई परिवार योजना सेवाको अपरिपुर्त माग घटाउन समेत मदत पुग्ने जनाएका छन् ।
मेरी संगिनी एप, यु.एस.ए.आई.डिको आर्थिक एवं सप्स प्लस को प्राबिधिक सहयोगका तथा राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा संचार केन्द्रको समन्वयमा नेपाल सी आर एस कम्पनी द्वारा निर्माण गरिएको हो ।
नेपाल सी आर एस कम्पनीले सामाजिक बजारीकरणको सिद्धान्त अनुसार बिगत चार दशक भन्दा अघिदेखि परिवार योजना, मातृ तथा बाल स्वास्थ्य र यौन रोगको रोकथामका साधनहरुको बिक्रि वितरण तथा व्यवहार परिबर्तन सम्बन्धि कार्यक्रम संचालन गर्दै आएको छ ।
यस कम्पनीबाट वितरित परिवार योजनाका साधनहरु नेपालको ७७ ओटै जिल्लामा उपलब्ध छन् । नेपाल सी आर एस द्वारा वितरित गरिएका केहि प्रतिष्ठित ब्राण्ड ढाल, प्यान्थर, संगिनी तिन महिने सुइ , निलोकन व्हायिट, सुनौलो गुलाफ, नव जीवन तथा आकस्मिक गर्भ निरोधक चक्की ईकोन रहेका छन् ।




प्रतिक्रिया