लोक सेवाका रोकिएका परीक्षा दशैँअघि गरिसक्ने

लोक सेवाका रोकिएका परीक्षा दशैँअघि गरिसक्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  लोक सेवा आयोगले रोकिएका सम्पूर्ण परीक्षा दशैँअघि गरिसक्ने गरी आन्तरिक तयारी गरिरहेको छ । आयोगमा पदाधिकारी सिफारिस भए पनि नियुक्ति भइनसकेको तथा कोरोना (कोभिड–१९) महामारीका कारण लोक सेवासम्बन्धी परीक्षाको आन्तरिक तयारी मात्रै भएको हो ।

कोरोना महामारीका कारण स्थगित चालू आर्थिक वर्षका सम्पूर्ण परीक्षा सञ्चालन र नियमित कार्यतालिकाअनुसार कसरी अगाडि बढ्ने भन्नेमा आयोगले आन्तरिक तयारी गरेको हो । आयोगमा पदाधिकारी नहुँदा र कोरोनाका कारण खरिदारदेखि सहसचिवसम्मको परीक्षा सञ्चालनमा बाधा पुगेको छ ।

लोक सेवा आयोगका सचिव महेन्द्रप्रसाद गुरागाईंले आयोगका पदाधिकारी सिफारिस भए पनि नियुक्ति भइनसकेकाले आन्तरिक रूपमा मात्रै काम गरिएको बताए । उनले कोरानाका कारण विज्ञापन भएका कतिपय पदको परीक्षा हुन बाँकी रहेको जानकारी दिए । उनले भने, “कोभिड–१९ का कारण रोकिएको परीक्षा अगाडि बढाउने योजना बनाएका छौँ । कोभिड सङ्क्रमण कम भएपछि उपयुक्त समयमा परीक्षा सञ्चालन सुरु गर्ने गरी तयारी गरेका छौँ ।”

चालू आर्थिक वर्षको दरबन्दी पदपूर्ति गर्न पदाधिकारीले नियुक्ति पाउनासाथ थप काम अगाडि बढ्ने उनले स्पष्ट पारे । उनले भने, “निषेधाज्ञा रोकिनु पर्‍याे र विद्यार्थीलाई कम्तीमा पढ्नका लागि एक महिना समय राखेर सूचना निकाल्नु पर्‍याे ।

साउनमा परीक्षा सञ्चालनको सूचना निकाल्ने तयारी रहेको जानकारी दिँदै उनले कोभिड सङ्क्रमणको अवस्थामा निर्भर गर्ने बताए । सचिव गुरागाईंले भने, “परीक्षा सञ्चालन गर्न सरकारले अनुमति दिने र जोखिम नहुने अवस्था भयो भने जहिलेदेखि हुन्छ त्यहिलेदेखि गर्ने, साउनपछि गर्न सकिन्छ भन्ने योजना बनाएका छौँ ।”

आयोगका प्रवक्ता तोयनारायण सुवेदीले अघिल्लो आर्थिक वर्षको खरिदार पदको प्रवेश परीक्षा भएर मूल परीक्षा रोकिएको जानकारी दिए ।-यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।