देशभर नयाँ शैक्षिक सत्र सुरु


काठमाण्डु आजदेखि देशभर नयाँ शैक्षिक सत्र सुरु हुँदैछ । विद्यार्थीको अन्तिम आन्तरिक मूल्याङ्कन पूरा गरी नतिजा प्रकाशन गरेर कक्षा १० सम्म अध्ययन गर्ने देशभरका विद्यार्थीको नयाँ शैक्षिक सत्र सुरु गरिने भएको हो ।

कोरोना (कोभिड–१९) सङ्क्रमणका कारण भौतिक उपस्थितिमा पठनपाठन हुन नसके असार १ देखि विद्यालयले विद्यार्थीको नयाँ कक्षामा अभिलेखीकरण कार्य सुरु गर्नुपर्ने छ ।

अनलाइन, टेलिफोन या अन्य कुनै माध्यमबाट विद्यार्थीको कक्षामा अभिलेखीकरण सुरु गर्ने शिक्षा तथा मानव विकास स्रोत केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालले जानकारी दिए । विद्यार्थीको अभिलेखीकरणपछि वैकल्पिक सिकाइ प्रणालीबाट बालबालिकाको सिकाइलाई निरन्तरता दिइने बताइएको छ ।

यसअघि सरकारले जेठभित्र सबै कार्य पूरा गरी असार १ बाट नयाँ शैक्षिक सत्र प्रारम्भ हुने भएकाले सोहीअनुसार तयारी गर्न सबै विद्यालयलाई निर्देश समेत दिएको थियो । यस्तै कक्षा ११ को पठनपाठन भने भदौबाट सुरु हुँदैछ ।

विद्यालयले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई)का विद्यार्थीको आन्तरिक मूल्याङ्कन कार्य पू्रा गरी साउन दोस्रो सातासम्म अन्तिम नतिजा प्रकाशित गर्ने र भदौबाट नयाँ कक्षा सुरु गरिने राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement