काठमाण्डु–सरकारले चीनबाट ४० लाख डोज कोरोना खोप खरिद गर्ने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले चीनको सिनोफर्म कम्पनीसंग कोरोना खोप खरिद प्रक्रिया अघि बढाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहमति दिएको स्रोतको दावी छ ।
सरकारले चीनबाट खरिद गर्न लागेको ४० लाखमध्ये पहिलो खेप जुन महिनाभित्रै आइपुग्ने बताइएको छ । बुधबार बसेको कोभिड–१९ निर्देशक समितिको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले समेत ४० लाख डोज ल्याउन गृहकार्य भइरहेको बताएका थिए ।
नेपालले खोप खरिदका लागि प्रस्ताव गर्दा चिनियां कम्पनीले मुल्य लगायतका विषय सार्वजनिक नगर्ने गरी ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ गर्नुपर्ने बताएको थियो । नेपालको कानुनले ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ गर्न अनुमति नदिने भएकाले विचमा केही समय प्रक्रिया रोकिएको थियो । तर, अरु देशबाट खोप आउन ढिलाई हुने भएपछि सरकार त्यसमा चिनियां कम्पनीसंग सहमत भएको हो ।
‘चीनबाट एक लाख मिलियनका दरले विभिन्न चरणमा हामीले खोप पठाउने तयारी गरेका छौं,त्यसका लागी सरकारको पत्र आउने वित्तिकै काम अघि बढ्छ ।’ वेइजिङस्थित नेपाली दूतावासका एक अधिकारीले काठमाण्डुपाटीसंग भने ।
स्वास्थ्य सेवा विभागले खोप खरिदका लागी जेठ ११ मा उक्त कम्पनीलाई पत्र पठाइसकिएको छ । विभागले मन्त्रिपरिषदको बैठकको निर्णयका आधारमा फेरी अर्को पत्र पठाउने तयारी गरेको छ । सरकारले खरिद गर्न लागेको खोपको मुल्य नेपाली एक हजार पर्ने भएको स्रोतको दावी छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियां राष्ट्रपति सी जिनपिङसंग खोप उपलव्ध गराइदिन अनुरोध गर्दै पत्र लेखेकी थिईन । उक्त पत्रपछि दुवै देशको अधिकारीको सक्रियता बढेको थियो । चीन पनि चिनियां राष्ट्रपतिसंगको टेलिफोन वार्तापछि खोप दिन सकरात्मक बनेको स्रोतको दावी छ ।
नेपालले यसअघि सिनोफार्मले उत्पादन गरेको १८ लाख खोप नेपालले अनुदान प्राप्त गरिसकेको छ । अहिले खरिद गर्न लागेको खोपको मूल्य र आपूर्तिको समयसीमाबारे सरकारी अधिकारीले बोल्न मानेका छैनन । खोप खरिदबारे दुवै देशका सरकार र उत्पादक कम्पनी दुवैसंग दुई खाले सम्झौता गर्ने तयारी छ । विद्यामान कानूनलाई संशोधन गर्ने सरकारले तयारी गरेको छ ।




प्रतिक्रिया