काठमाण्डु – देशका विभिन्न ठाउँमा पहिरोले अवरुद्ध भएका १३ वटा राजमार्ग अझै खुल्न सकेका छैनन् । लगातारको वर्षासहितको बाढीपहिरोले विभिन्न राजमार्गमा पर्ने १३ ठाउँका सडक बन्द छन् । बन्द सडक खुलाउने प्रयास भए पनि पहिरो पन्छाउन नसक्दा सडकमार्ग अझै ठप्प रहेको सडक विभागले जनाएको छ ।
साँफेबगर–मार्तडी–कोल्टी सडक खण्ड अन्तर्गत बाजुराको बल्दे—अम्कोट खण्डमा अवरुद्ध भएको छ । डुम्रे–बेंसीसहर–चामे सडक खण्ड अन्तर्गत मनाङको तिमाङ छहरा, पाँचखाल–मेलम्ची टिम्बु सडकमा पर्ने सिन्धुपाल्चोकको मेलम्ची बजार, अरनीको राजमार्गमा पर्ने सिन्धुपाल्चोकको लिपिङ पुल, खोड्पे–चैनपुर सडकमा पर्ने बझाङको कचाली र तमैल सडक अझै पनि बन्द छ ।
डुम्रे बेसीसहर–चामे सडक खण्डमा पर्ने मनाङको तिमाङ–छहरा मनसुन सुरु हुनुभन्दा अघि गएको जेठ १६ गतेदेखि नै बन्द छ । यो सडक खण्डमा पर्ने मनाङको तिमाङ खोला, धारापानी र बगरछाप तथा लमजुङ जिल्लामा पर्ने रामबजार, अर्खले, च्याम्चे र घट्टे खोलाको सडकमार्ग गएको १ गतेदेखि बन्द छन् ।
साँफेबगर मार्तडी–कोल्टी सडक खण्डमा पर्ने बाजुराको बल्दे अम्कोट सडकमार्ग गएको जेठ मसान्तदेखि बन्द रहेको छ। अरनिको राजमार्गमा पर्ने सिन्धुपाल्चोकको लिपिङ पुल र कोदारी, रसुवाको त्रिशूली खोला, सानो भार्खु र गाँजाबारी गएको १ गतेदेखि नै बन्द छ । वीपी राजमार्गमा पर्ने काभ्रेको माम्तिखोलाको सडकमार्ग हिजोदेखि बन्द भएको छ ।
मनसुन सुरु भएपछि अहिलेसम्म देशभरका ५९ वटा राजमार्ग तथा सडकमार्ग ठप्प भएका थिए । ती मध्ये १७ वटा सडक मर्मतपछि खुलाइएको छ भने २९ वटा सडकमार्ग एकतर्फी मात्रै सञ्चालनमा छन् ।
बेलहिया–भैरहवा–बुटवल–वर्तुङ–राम्दी–स्याङ्जा–पोखरा (सिद्धार्थ राजमार्ग , जमुनाहा–नेपालगंज–कोहलपुर–सुर्खेत–खुलालु–हिल्सा (कर्णाली राजमार्ग) दैलेख बाङ्गेसिमल, कालाखाला सडकखण्ड, जमुनाहा–नेपालगंज–कोहलपुर–सुर्खेत–खुलालु–हिल्सा (कर्णाली राजमार्ग) दैलेख कालाखाला सैन सडकखण्ड, दरबारे, खोड्पे–चैनपुर (बझाङ) बैतडी ढोल्यामोडलगायतका सडक एकतर्फी संचालनमा आएका छन् ।
अवरुद्ध १३ वटा सडक सुचारु गर्ने प्रयास भइरहेको सडक विभागले जनाएको छ । देशभरीको सडकको अवस्था थाहा पाउन तलको लिङ्कमा क्लिक गर्नुहोस् ।




प्रतिक्रिया