काठमाण्डु – प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच भेटवार्ता भएको छ ।उनीहरुबीच काठमाण्डुको नक्सालस्थित होटेल मेरियटमा ५५ दिनपछि प्रत्यक्ष भेटवार्ता भएको हो । लामो समयदेखि पार्टीभित्र देखिएको समस्या समाधानको प्रयासस्वरूप फरक फरक खेमाको नेतृत्व गरिरहेका दुई नेताहरू छलफलमा जुटेका हुन् ।
एमाले दोस्रो तहका नेताहरू दुई नेताहरूबीच भेटवार्ता गराउन केहीदिनदेखि सक्रिय भएका थिए । विवाद समाधान गर्न बनाइएको कार्यदल निष्कर्ष नजिक पुगेको कार्यदलका सदस्यहरुले बताइरहेका बेला ओली र नेपालबीच निर्णायक भेटवार्ता भएको हो ।
उनीहरुबीचको निर्णायक वार्तामा दुवै तर्फका दोस्रो तहका नेताहरु पनि सहभागी छन् । स्रोतका अनुसार ओली पक्षबाट ईश्वर पोखरेल, सुवास नेम्वाङ र विष्णु पौडेल सहभागी छन् । यस्तै नेपाल पक्षबाट भीम रावल र सुरेन्द्र पाण्डे सहभागी छन् ।
एमाले विवाद कायमै रहेका बेला प्रधानमन्त्री ओलीले मध्यराति दोस्रोपटक प्रतिनिधिसभा विघटन गरेपछि एमाले विभाजनको दिशामा लगेको थियो । माधव नेपाल पक्षले ओलीलाई प्रतिगमनकारी भन्दै पाँच राजनीतिक दलको विपक्षी गठबन्धन बनाएर ओलीविरुद्ध संघर्ष गर्दै आएको छ ।
उता, सर्वोच्च अदालतमा काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परामादेश मागेर नेपाल पक्ष ओलीविरुद्ध लागिरहेका छन् । सर्वोच्चको संवैधानिक इजलासमा उक्त रिट निवेदनमा बहस सकिएर फैसला आउने चरणमा छ । सर्वोच्चले आगामी असार २८ गते फैसला सुनाउने तयारी गरिरहेको छ । यसैबीचमा दुई शिर्ष नेताहरुबीच भएको यो भेटवार्तालाई निकै महत्वको साथ हेरिएको छ ।




प्रतिक्रिया