काठमाण्डु– प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने तयारी गरेका छन्। देउवाले विश्वासको मत नपाए फेरी पनि प्रतिनिधिसभा विघठन हुने विश्लेषण भइरहेका बेला उनले विश्वासको मत लिने तयारी गरेका हुन। त्यसका लागी देउवाले सहयात्री दलहरुसंग छलफल सुरु गरिसकेका छन् ।
देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले नेता माधव नेपालसंग छलफल गरिसकेका छन् । उनले प्रतिनिधिसभाको बांकी अवधी पुरै सरकार चलाउने र निर्वाचनमा जाने रणनीति बनाएको स्रोतको दावी छ ।
पुर्नस्थापित प्रतिनिधिसभाको बैठक साउन ३ गतेभित्रै बोलाउन सर्वाेच्च अदालतले आदेश दिइसकेको छ । संसदको बैठक बसेको केही दिनभित्र विश्वासको मत लिने उनको तयारी छ । त्यसका लागी उनले एमाले नेता नेपाललाई फकाउने रणनीति बनाएका छन् । बुधवार देउवा नेता नेपाल निवास पुगेका थिए । उनले विश्वासको मत लिनेबारे छलफल गरेका थिए ।
नेता नेपालले भेटमा एमालेको संस्थागत निर्णय गरेर भएपनि समर्थन दिने र नभए आफुसंग १० जना सांसद रहेको र त्यसको समर्थन उनलाई हुने आश्वासन दिएका थिए । त्यसका साथै जसपाको महन्थ ठाकुर पक्षका केही सांसदको समर्थन जुटाउन समेत देउवालाई सुझाव दिएको नेता नेपाल निकट एक नेताले जानकारी दिए ।
प्रधानमन्त्री नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। तर, देउवा जतिसक्दो चांडो विश्वासको मत लिने पक्षमा छन् । देउवालाई प्रधानमन्त्री बनाउन नेता नेपालसहित एमालेका २३ सांसदले पार्टी निर्णय विपरित हस्ताक्षर गरेका थिए । तर,अहिले एमालेभित्रको समिकरण भने वदलिएको छ । देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका सबै सांसदहरुले उनलाई समर्थन गर्ने सम्भावना भने कम छ ।
प्रधानमन्त्री देउवाले नेता नेपाल र जसपाबाट समर्थन लिएर मत लिने योजनामा छन्। जसपाको उपेन्द्र यादव–बाबुराम भट्टराई पक्षले उनलाई सहयोग गरिसकेको छ । तर, आवश्यक परे अध्यक्ष महन्थ ठाकुर पक्षका केही सांसदको समर्थन लिनेमा प्रधानमन्त्री छन् । जसपामा उपेन्द्र बावुराम १४ जना सांसद छन भने ठाकुरको पक्षमा १८ सांसद छन् । अहिले ठाकुर पक्षका केही सांसद उनिसंग असन्तुष्ट रहेको बताइएको छ । उनिहरुले पनि देउवालाई समर्थन गर्न सक्ने सम्भावना छ ।
प्रधानमन्त्री देउवाले अहिलेसम्म ठाकुरसम्म कुनै संवाद नगरेको बताईको छ । तर, देउवालाई निकट नेताहरुले उनिसंग संवादको लागी सुझाव दिएका छन् । नेपाली कांग्रेसले यसअघि उनलाई प्रधानमन्त्री अफर गरेपनि ठाकुरले त्यसलाई अस्विकार गरेका थिए ।
प्रधानमन्त्री देउवालाई विश्वासको मत प्राप्त गर्न अहिले १ सय ३६ जना सांसदको समर्थन आवश्यक हुन्छ । कांग्रेसका ६१ र माओवादी केन्द्रका ४८ सांसद छन्। यादव पक्षका १४ जनाले समर्थन गरेपछि पनि उनलाई बहुमत पु¥याउन थप १३ जना सांसदको समर्थन आवश्यक छ । त्यसका लागी नेपाल र ठाकुर पक्षका सांसदको समर्थन लिने देउवाको रणनीति छ ।
प्रधानमन्त्री देउवा अहिले जसपा विभाजित नहोस भन्ने पक्षमा छन् । त्यसका लागी उनले दुवै पक्षलाई मिलाउने योजना बनाएका छन । तर, जसपाभित्र एकता गर्न भने सजिलो नभएको बताइन्छ । उनले सिंगो जसपाको मत पाउने गरी छलफल चलाएको कांग्रेसका एक नेताले बताए । तर, अहिले छलफल प्रारम्भिक चरणमा रहेको ती नेताको भनाई छ ।
देउवाले सकेसम्म चांडो निर्वाचन गर्न चाहेका छन् । तर, उनको त्यो योजनामा माओवादी केन्द्रका अध्यक्ष दाहाल र जसपाका अध्यक्ष यादव बाधक छन । उनिहरु संसदको पुरै कार्यकाल सरकार चलाउनुपर्ने र त्यसपछि मात्र देउवाकै नेतृत्वमा भएपनि निर्वाचनमा जानुपर्ने पक्ष्ँमा छन् ।
जसपाभित्रको विवाद निर्वाचन आयोगमा विचाराधीन छ। जसपा नामको आधिकारिता उपेन्द्र र ठाकुरमध्ये कुन पक्षले पाउने भन्ने विषयमा आयोगले साउन ३ गते इजलासमा छलफल गर्दैछ। माओवादी केन्द्रका अध्यक्ष दाहालले दलको आधिकारीता यादव पक्षलाई दिन प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई दबाव दिएको स्रोतको दावी छ । जसपाको यादव पक्ष त्यसअघि सरकारमा नजाने मनस्थितीमा छ ।
पहिलो चरणमा देउवाले माओवादी केन्द्रबाट २ र कांग्रेसबाट २ जनालाई लिएर सानो मन्त्रिमण्डल बनाइसकेका छन् । देउवाले साउन ३ गतेपछि मात्र मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन् । एमालेमा अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच एकता हुने सम्भावना कम भएकाले नेपालले नयां दल खोल्ने सम्भावना पनि छ । त्यसमा नेपाल,देउवा,दाहाल र यादव पक्षले आगामी निर्वाचनसम्मै मोर्चा बनाएर अघि बढ्ने गरी छलफल समेत चलाइसकेका छन् ।
जसपा विभाजित हुने र नेपाल पक्षले समेत साथ नदिने अवस्थामा मात्र देउवाले विश्वासको मत पाउँदैनन्। तर, विश्वासको मत नपाए पनि उनैले चुनाव भने गराउन पाउने छन्।
यता नेपाल पक्ष भने देउवालाई नै सहयोग गरेर जानेमा छ । उनले राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने कुरालाई जोड दिइरहेका छन् । त्यसो गर्दा नेपाल पक्ष पनि सरकारमा सहभागी हुनेछ ।
पुनस्र्थापित संसदलाई जसरी पनि बचाउनुपर्ने र महामारी लगायतका चुनौतीको सामना गर्न पनि राष्ट्रिय सरकारको आवश्यकता रहेको नेता नेपालको भनाई छ । नेपालले आफु गठबन्धनबाट समेत नबाहिरिएको बताएका छन् । यसले गर्दा पनि देउवाले विश्वासको मत पाउने सम्भावना बढी छ ।




प्रतिक्रिया