काठमाण्डु – नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । तर, देउवाको नियुक्तिलाई छिमेकी राष्ट्रले त्यति धेरै महत्व दिएका छैनन् ।
२०७४ सालको निर्वाचनमा विजय भएका केपी शर्मा ओलीलाई भारत र चीनले तत्कालै शुभकामना दिएका थिए । तर, ओलीको बर्गीगमनपछि प्रधानमन्त्री बनेका कांग्रेस सभापति देउवालाई राष्ट्रपति विद्यादेवी भण्डारीले नै शुभकामना दिइनन् । राष्ट्रपतिले बधाई नदिएको विषयमा आलोचना भइरहेका बेला देउवालाई छिमेकी मुलुकबाट समेत सुखद समाचार आएको छैन ।
सामान्यतयाः प्रधानमन्त्रीमा नियुक्त भएपछि छिमेकी देशका समकक्षीहरुले बधाई दिने चलन रहेको छ । तर, देउवा प्रधानमन्त्रीमा नियुक्त भएको दुई दिन बित्दासमेत नेपालका दुई ठूला छिमेकी मुलुक भारत र चीनले केही बाेलेका छैनन् । विगतमा भारतीय समकक्षीले सबैभन्दा पहिले शुभकामना दिने परम्परा जस्तै थियो । तर, यसपटक भने अमेरिकाले सबैभन्दा पहिले बधाई दिएको छ ।
नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले देउवालाई ट्वीटरमार्फत बधाई दिएका थिए । तर, नजिकका छिमेकी मुलुक भारत र चीनले अहिलेसम्म मौनता साँध्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले देउवालाई बुधबार भेटेरै बधाई दिएपनि भारतीय समकक्षी नरेन्द्र मोदीले अहिलेसम्म बधाई दिएका छैनन् । नेपाली कांग्रेसलाई पुरानो नजिकको मित्र मान्ने भारतले देउवा प्रधानमन्त्री हुँदा खासै चासो देखाएको छैन् । भारतीय सञ्चारमाध्यमहरुले देउवा आफूहरुको पुरानो मित्र भएको उल्लेख गरेका छन् ।
२०७४ सालको निर्वाचनमा विजय भएपछि भारतीय प्रधानमन्त्री मोदीले ओलीलाई तत्कालै शुभकामना दिएका थिए । उनले प्रधानमन्त्रीमा नियुक्त भएकै दिन टेलिफोन गरेर ओलीलाई बधाई दिएका थिए ।
परराष्ट्रविद् लोकराज बराल नेपालको विषयमा भारत केही गम्भीर बनेको बताउँछन् । ओलीको नेतृत्वमा आएको जननिर्वाचित सरकार आउँदा भारत स्वभावितक रुपमा हौसिएको बताउँदै बरालले अहिले उनीहरु संयमित भएको बताए ।
‘नरेन्द्र मोदीको हौसिने चलन थियो । पहिले केपी शर्मा अोली प्रधानमन्त्रीमा नियुक्त भएपछि हतारहतार टेलिफोन गरेका थिए । अहिले उनीहरु संयमित भएका छन् । हौसिनुपर्दैन सामान्य रुपले बधाई दिँदा हुन्छ भन्ने अवस्थामा पुगेका छन् । यो सामान्य अवस्था हो । कतिबेला ढल्छ चल्छ भन्ने छाप पर्यो,’ उनले भने ।
बरालले जुनसुकै सरकार आए पनि विदेशी राष्ट्रहरुले नेपाललाई समान व्यवहार गर्ने बताए । उनले भारत, चीन, अमेरिकालगायतका मुलुकहरुले सामान्य व्यवहार गर्ने बताएका हुन् ।
‘भारत चीनलगायतले पहिलेजस्तै सामान्य व्यवहार गर्छन् । ओलीजीले पहिले भारतविरोधी गतिविधि गरेको आरोप लाग्यो पछि चुनाव जितेपछि रअ प्रमुखलाई भेट्ने लगायतका काम गर्नुभयो,’बरालले भने ।
जनताले पाँच वर्षका लागि प्रतिपक्षमा पठाएको पार्टी देशको नेतृत्व गर्न आएपछि दुवै मुलुकले नेपालमा राजनीतिक अस्थीरताको बिजारोपण भएको विश्लेषण गरेका छन् । सर्वोच्च अदालतले चुनावी सरकारलाई हटाएर प्रतिपक्षी पार्टीलाई देशको नेतृत्व सुम्पिएको विषय छिमेकी मुलुकलाई निको लागेको छैन् ।
मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता पारित गर्ने सुईंको पाएको चीनले देउवाको आगमनलाई त्यति सहज मानेको छैन । नेपालमा अमेरिका हावी हुनेभन्दै चीन शशंकित छ । त्यसैले देउवाको पुनारागमनलाई चीनले त्यति चासो नदिएको टिप्पणी हुन थालेको छ ।
भारत लिम्पियाधुरा कालापानी क्षेत्रमा देखिएको विवादले नेपालसंगको सम्बन्धलाई पछिल्लो समय चासो दिएको छैन् । नेपालसंग ढाडिएर रुष्ट बनेका छिमेकीसंगको सम्बन्ध सुमधुर बनाउने देउवा सरकारलाई चुनौती छ ।




प्रतिक्रिया