काठमाण्डु – नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा अहिले प्रधानमन्त्रीमा नियुक्त भएका छन् । चुनावमा पराजय भोगेर प्रतिपक्षीको सिटमा सीमित भएको कांग्रेसलाई नेकपाको विभाजनले सत्ताको साँचो हातमा परेको छ । दलहरूसँगको गठबन्धनमा सत्तामा पुगेको कांग्रेस अहिले चौधौँ महाधिवेशनको संघारमा छ ।
एकातिर नयाँ सरकार अर्को तर्फ महाधिवेशन भएकाले सन्तुलन मिलाउन सभापति देउवालाई दबाब छ । पार्टीभित्र देखिएको क्रियाशील सदस्यताको विवादले देउवा तनावमा रहेको स्रोतले जनाएको छ । विभिन्न जिल्लाको विवाद अहिले केन्द्रीय कार्यालय सानेपामा देखिन थालेको छ । बारा जिल्लाका कांग्रेस नेता कार्यकर्ता असार २७ गतेदेखि धर्नामा छन् ।
धर्नामा चार वटै निर्वाचन क्षेत्रका नेता कार्यकर्ता सहभागी रहेको नेपाल विद्यार्थी संघका निवर्तमान सह महामन्त्री राजेश रौनियारले जानकारी दिए । उनले बारामा क्रियाशील सदस्यता वितरणमा धाँधली भएको बताए । धर्नामा पूर्वसांसदहरु राम अयोध्या यादव, लालबाबु सिंहलगायत दुई दर्जन नेता कार्यकर्ता रहेका छन् ।
बारा जिल्लामा विवाद किन ?
४ वटा निर्वाचन क्षेत्र रहेको बारामा क्षेत्र नम्बर ३ बाहेक ३ वटै क्षेत्रमा विवाद छ । नेपाल विद्यार्थी संघका निवर्तमान सह महामन्त्री राजेश रौनियार का अनुसार विवादित ३ वटै क्षेत्रमा फरक फरक प्रकृतिको विवाद छ । क्षेत्रीय सभापतिहरूले मनलाग्दी गरेकाले सदस्यतामा विवाद देखिएको उनको आरोप छ । केन्द्र हुँदै वडा तहसम्म पुग्नुपर्ने क्रियाशील सदस्यताको फारम कतिपय वडाहरूमा अझै पुग्न सकेको छैन भने पुगेका वडाहरूमा पनि फर्जी विवरण भरेर धादली गरेको उनको आरोप छ ।
बारा क्षेत्र नम्बर १ का क्षेत्रीय सभापतिले फर्जी विवरण भरेर पठाएको रौनियारले बताए । उनी भन्छन्, ‘क्षेत्र नम्बर एकमा फारममा समस्या होइन, त्यहाँको ७ वटा जति वडामा बढी विवाद हो, वडा समितिले निर्णय नै नगरेको व्यक्तिको नाम क्षेत्रीय सभापतिले भरेर पठाउनुभयो । पालिकाको अनुमोदन पनि छैन । त्यो क्षेत्रमा १ सय ६६ जनाको फर्जी विवरण भरिएको छ ।’
यता क्षेत्र नम्बर २ मा वडा स्तरमा क्रियाशील सदस्यको फारम नै नपुगेपछि विवाद देखिएको हो । केन्द्रले प्रदेश हुँदै पालिका र वडामा पठाएको फारम क्षेत्र नम्बर २ का वडाहरूमा अझै पुगेको छैन । क्षेत्रीय सभापतिहरूले गैर कांग्रेस आफन्तको नाम समेटेर केन्द्रमा पठाएको उनको आरोप छ ।
नवीकरणको फारम वडा तहमा पुगे पनि नयाँ सदस्यताको फारम नपुगेपछि वडा सभापतिहरू नै काठमान्डु केन्द्रीय कार्यालयमा आएका छन् । ४४ वडा रहेको क्षेत्र न.२ को १९ वडामा विवाद छ । रौनियारले भने, ‘क्षेत्रीय सभापतिहरूले फरजी नाम हालेर केन्द्रमा त पठाए तर उनीहरूले फर्जी सदस्यलाई अनुमोदन गराउन वडा अध्यक्षहरूको किर्ते हस्ताक्षर गरेर पठाए, तपाइ आफै भन्नुहोस् वडाको बैठक नबसी कसरी अनुमोदन भएको कुरा वडा सभापतिहरूलाई नै थाहा छैन । त्यसैले उहाँहरू अहिले पार्टी केन्द्रीय कार्यालयमा धर्ना दिन आउनुभएको छ ।’
यस्तै क्षेत्र नम्बर ४ मा पनि क्षेत्रीय सभापतिले बदमासी गरेको उनको भनाइ छ । आफ्नो मान्छे जिताउनका लागि क्षेत्रीय सभापतिहरूले गैर राजनीतिक चरित्र देखाएको उनको आरोप छ । उनले भने ‘सदस्यता दिएर मात्र हुँदैन प्रमाण पुर्याएर वैधानिक तरीकाबाट आउनुपर्यो। ’ यस्तै कांग्रेसका पाका पुराना नेताहरूको समेत नवीकरण नभएको उनको भनाइ छ ।
आफूहरूको माग पुरा नभएसम्म धर्ना जारी रहने उनले बताए । आफूहरूका माग नाजायज भए आएर स्पष्ट पार्न नेतृत्वलाई चुनौती दिए । कांग्रेसको आसन्न महाधिवेशनमा सदस्यता विवाद पेचिलो बनेको छ । सदस्यता छानबिन समितिले अहिले फर्जी सदस्यताको छानबिन गरिरहेको जनाएको छ ।




प्रतिक्रिया