काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवाले आज संसदमा विश्वासको मत लिँदैछन् । दिउँसो ४ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिने भएका हुन् ।
संविधानको धारा ७६ को उपधारा (५) अनुसार गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले एक महिनाभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक बाध्यता रहेको छ ।
सरकार टिकाउनका लागि २७१ जना सांसदमध्ये उनलाई १३६ जना सांसदको समर्थन आवश्यक पर्छ । हालसम्म देउवाको पक्षमा नेपाली कांग्रेस र माओवादी केन्द्रबाट ११०, उपेन्द्र यादव पक्षका १७, राष्ट्रिय जनमोर्चा १ सांसदले विश्वासको मत दिने भएका छन् ।
साथै नेकपा एमालेको माधव नेपाल पक्षबाट १२ जना सांसदको समर्थन हुने भएको छ । नेपाल समूहका सांसद मेटमणी चौधरीले आफ्नो पक्षबाट १२ जना सांसदसहित देउवालाई १४० जना सांसदहरुको समर्थन हुने जानकारी दिए ।
‘यो सरकार जोगाउन आवश्यक छ । हाम्रो पक्षबाट १२ जना सांसदको समर्थन हुन्छ । उहाँलाई समर्थन गर्ने सांसदको संख्या १४० पुग्छ,’ सांसद चौधरीले काठमाण्डुपाटीसँग भने ।
तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले असार ७ गते प्रतिनिधिसभा विघटन गर्दै कार्तिक २७ र मंसिर ३ गतेका लागि मध्यावधी निर्वाचनको घोषणा गरेकी थिइन् ।
प्रतिनिधिसभा विघटनविरुद्ध र देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न माग गर्दै एमालेको माधव नेपाल समूहसहित १४६ जना सांसदले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । असार २८ गते सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्दै देउवालाई २८ घण्टाभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको थियो ।




प्रतिक्रिया