देउवाको ज्योतिष मोहः साइत हेराएरै विश्वासको मत लिने निर्णय !

देउवाको ज्योतिष मोहः साइत हेराएरै विश्वासको मत लिने निर्णय !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवाले आज प्रतिनिधिसभामा विश्वासको मत लिँदैछन् । अपराह्न ४ बजे बस्ने संसद बैठकमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिने भएका हुन् ।

उनले अचानक विश्वासको मत लिने निर्णय गरेका हुन् । बिहान ९ बजेसम्म देउवाले विश्वासको मत लिने विषयमा स्वयं कांग्रेसका सांसदहरु नै अनभिज्ञ थिए । एक सांसदलाई फोन गरेर बुझ्दा प्रधानमन्त्री देउवाले विश्वासको मत लिने विषय आफूहरुलाई जानकारी नभएको बताएका थिए ।

‘आज दिउँसो ४ बजे संसद बैठक बस्दैछ । तर, विश्वासको मत लिने विषय तपाईहरुले भनेपछि मात्रै थाहा पाएँ,’ ती सांसदले भने ।

प्रधानमन्त्रीले ज्योतिषलाई साइत हेराएर विश्वासको मत लिन लाग्नु भएको हो ? भन्ने प्रश्नमा ती सांसदले उक्त विषय आफूलाई थाहा नभएको बताए । तर, उनले देउवामा ज्योतिषप्रतिको विश्वास भने रहेको स्वीकारे । बालुवाटार ज्योतिषीले दिएको साइतमा प्रवेश गरेका देउवाले विश्वासको मत लिँदा पनि ज्योतिषसँग परामर्श गरेको हुनसक्ने कांग्रेस नेताहरुको बुझाई छ ।

यता देउवा ७ चोटीसम्म प्रधानमन्त्री बन्ने भविष्यवाणी गर्ने ज्योतिष सुरेशचन्द्र रिजालले पनि आज संसदमा विश्वासको मत पाउने दाबी गरेका छन् ।

उनले आज नवमी तिथि सूर्य ग्रहको बार आईतबार र तुला राशिमा चन्द्रमा भएको शुभ समय पारेर विश्वासको मत लिएर विदेशी सम्बन्ध सुदृढ पार्नकालगि आजको दिन विशेष कार्य शिद्धिको योग परेको बताएका छन् ।

साथै उनले नेपाली जनताले विश्वास गरेअनुसार नै अबको सरकारले काम गर्ने पनि दाबी गरेका छन् । गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका देउवा शुक्रबार ज्योतिषीले निकालेको साइतमा बालुवाटार प्रवेश गरेका थिए ।

‘सत्तालाई शक्तिशाली बनाउनका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने तयारीमा गृहकार्य थाल्नु भएको छ । शक्तिको उपाशना गर्दै शक्तिशाली अवस्थामै रहँदै देश र जनताका भावना पूरा गर्नका लागि २७ गतेबाट सुरु भएको गुप्त नवरात्र अन्तर्गत आज नवमी तिथि सूर्य ग्रहको बार आईतवार र तुला राशिमा चन्द्रमा भएको शुभ समय पारेर विश्वासको मत लिएर विदेशी सम्बन्ध सुदृढ पार्नकालगि आजको दिन विशेष कार्य शिद्धिको योग परेको छ । नेपालीले विश्वास गरेअनुसार नै अबको सरकारले काम गर्ने छ,’ उनले भनेका छन् ।