काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगामी तत्वहरु जनताका अगाडि पराजित भएको बताएका छन् ।
बुधबार मुस्लिम धर्मावलम्बीहरुको महान चाड बकर इदको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले जनताका अधिकार कटौती गर्ने प्रतिगामी तत्वहरु परास्त भएको बताएका हुन् ।
उनले समाजका विभिन्न समुदायको बलिदानीपूर्ण संघर्षले हासिल गरेका उपलब्धीहरुमाथि पछिल्लो चरणमा देशी विदेशी प्रतिक्रियावादीहरुबाट हमला गर्ने काम भएकोसमेत बताएका छन् ।
‘समुदायले हासिल गरेका हक अधिकारहरुको कटौती हुन थाल्यो । तर, त्यस्ता प्रतिगामी तत्वहरु जनताको तागतका अगाडि परास्त भए । त्यसकारण आजको दिन समुदायका कटौती भएको अधिकारको पुर्नवहालीको अवसरका रुपमा मनाउन आग्रह गर्दछु । जनताले गरेको विकास र समृद्धिको आकांक्षा अनुरुप समाजवादी लक्ष्य हासिल गर्न सबै नेपाली जनसमुदायमा एकताबद्ध पहलकदमीका लागि आह्वान पनि गर्दछु,’ अध्यक्ष प्रचण्डले भनेका छन् ।
साथै उनले विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीमा स्वास्थ्य सुरक्षाका सबै मापदण्डको पालना गर्दै सुरक्षित रहेर बकर इद मनाउन आग्रह गरेका छन् ।




प्रतिक्रिया