जसपाकाे नियती : जता गुलियो त्यतै भुलियो !

जसपाकाे नियती : जता गुलियो त्यतै भुलियो !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा)को पार्टी विभाजनको मुद्धा निर्वाचन आयोगको इजालसमा विचाराधिन छ । निर्वाचन आयोगमा जसपाको महन्थ ठाकुर पक्ष र उपेन्द्र यादव पक्षबीच भएको छलफलमा जसपाको विभाजन सम्बन्धी प्रक्रियामा अगाडी बढ्न दुवै पक्ष सहमत भएका हुन् ।

दुवै पक्षले मिल्नै नसक्ने अडान लिएपछि आयोगले प्रक्रिया अघि बढाएको हो । आयोगमा सुनुवाई भएकै दिन आइतबार कांग्रेस सभापति देउवालाई विश्वासको मत दिन भने दुवै पक्ष एक ठाउँमा उभिएका थिए ।

१६ महिनाअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दल विभाजन सम्बन्धी अध्यादेश ल्याएपछि त्यसको विरोध गर्दै राजपा र समाजवादी पार्टीले रातारात एकता घोषणा गरेर जनता समाजवादी पार्टी बनाए । तर, पार्टी एकताको बर्षदिन नपुग्दै ओलीको बिषयलाई लिएर पार्टी विभाजनको संघारमा आईपुगेको छ । प्रधानमन्त्री ओलीले चालेका कदम अलोकतान्त्रिक भन्दै दलहरुले मोर्चाबन्दी सुरु गरेर ओलीलाई एक्ल्याउने गरी प्रस्तुत भए तर जसपाको महन्थ ठाकुर पक्ष भने तिनै ओलीको समर्थन गर्दै सरकारमा सहभागी बन्यो ।

ओलीसँग मिलेर अघि बढ्नु पर्ने अध्यक्ष महन्थ ठाकुरको अडान र ओलीलाई सत्ताबाट निकाल्नुपर्ने उपेन्द्र यादव पक्षको रटानका कारण अहिले पार्टी नै औपचारिक विभाजनतर्फ उन्मुख भएको छ । दुवै पक्षले प्रधानमन्त्री देउवालाई आफ्नो माग सम्बोधन गर्ने शर्तमा आइतबार प्रतिनिसभामा विश्वासको मत दिएका छन् ।

यादव पक्षले देउवालाई संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त गर्नुपर्ने राष्ट्रपति कार्यालयमा बुझाएको पत्रमा समर्थन र सर्वोच्च अदालतमा रिट दायर गरेको थियो । तत्कालिन प्रधानमन्त्री ओली नेतृत्वको सरकारलाई समर्थन गरेको ठाकुर पक्ष अन्तिम समयमा आएर देउवालाई विश्वासको मत दिएको थियो ।

राजनीतिक एजेण्डाका हिसाबले जसपाका दुवै पक्ष एकै ठाउँमा आए पनि पार्टी एकता सम्भव नभएको दुवै पक्षका नेताहरुले दाबी गरेका छन् । यादव पक्षिय नेता प्रदीप यादवले ठाकुर पक्षलाई अवसरबादीको संज्ञा दिएका छन् । साथै उनले प्रतिगमनको साथ दिनेहरुसंगको एकता सम्भव नहुने बताए ।

उनी भन्छन्, ‘प्रतिगमनको साथ दिनेसँग एकता हुनु भोली पनि खतरापूर्ण छ । उहाँहरुले पहिले ओलीलाई किन साथ दिने भयो र अहिले अचानक देउवालाई किन भोट दिनुभयो समिक्षाको विषय बनेको छ । पार्टी एकता हुँदैन । हामीले उहाँहरुसँग एकता गर्दैनौं । ’

सांसद यादवले प्रतिमगन ढलेसंगै लाज पचाएर ठाकुर पक्षले सरकारलाई साथ दिएको बताए । उनले भने, ‘उहाँहरु अवसरवादी नै हो तपाईले देख्नुभयो नि संसदमा उहाँहरु अनिर्णित हुनुहुन्थ्यो । यदी देउवाले विश्वासको मत नपाउने स्थिति देखिएको थियो भने उहाँहरुले विपक्षमा मतदान गर्नुहुन्थ्यो उहाँहरु त जता गुलियो त्यतै भुलियो जस्तै हो । नत्र किन प्रतिगमनलाई साथ दिनुहुन्थ्यो । देउवालाई माधव नेपाल पक्षले पनि साथ दिएपछि अन्तिमा लाज पचाउन कहाँबाट आउनुभयो थाहा भएन ।’

यता ठाकुर पक्ष पनि निर्वाचन आयोगको फैसला पर्खेर बसेको छ । पार्टीको आधिकारीकता आफुहरुले नै पाउनुपर्ने उसको दाबी छ । ठाकुर पक्षका नेता उमाशंकर अरगरियाले अब मिल्ने सम्भावना निकै न्युन देखिएको बताए ।

आफूहरु निर्वाचन आयोगको अन्तिम फैसला पर्खिरहेको सांसद अरगरियाले बताए । उनी भन्छन्, ‘राजनीतिक कोर्ष धेरै अघि बढीसक्यो । अब दुवै पक्ष मिल्ने अवस्था निकै कम छ । निर्वाचन आयोगको फैसला पर्खने र भावी रणनीति तय गछौँ ।’

जनताको चाहान पार्टी मिलेर अघि बढोस् भन्ने भएपनि नेताहरुको अडानका कारण विभाजन उन्मुख भएको बताए । साथै उनले आफुहरु सरकारमा सहभागी भएर कुनै गलत नगरेको दाबी गरेका छन् । आफुहरुले केपी शर्मा ओलीलाई साथ दिएकै कारण मधेसवादी मुद्धाहरुको सम्बोधन हुन लागेको बताए ।