काठमाण्डु – नेपाली कांग्रेसका नेता गगनकुमार थापाले नयाँ सरकारलाई अपराध गर्ने छुट नभएको बताएका छन् । मंगलबार प्रतिनिधिसभाको शुन्य समयमा बोल्दै सांसद थापाले केपी ओली नेतृत्वको सरकारका बेथिति गरेको भन्दै नयाँ सरकारलाई त्यस्तो छुट नभएको बताएका हुन् ।
‘संसदले सरकारलाई विश्वासको मत दिएसँगै नयाँ अध्याय प्रारम्भ भएको छ । यो अध्यायको सुखान्तका लागि सरकार र संसद दुवैसँग नयाँ अपेक्षाहरु छन्,’ उनले भने, ‘संसदलाई हेप्ने, अदालतलाई हप्काउने, न विधि मान्ने, न विज्ञानलाई पत्याउने, स्थानीय र प्रदेश सरकारलाई पङ्गु बनाउने, जनताको दुहाई दिने तर आसेपासे पोस्ने, बाहिर सिंहजस्तो गर्जने, भित्र लम्पसार पर्ने, यस्तै यस्तै परिचय बनाएर बालुवाटारबाट बार्दली पुगेको छ अघिल्लो सरकार ।’
नेता थापाले नयाँ सरकार संसदसँग डराउनुपर्ने भन्दै मनोमानि गर्न नदिइने बताए । उनले प्रधानमन्त्रीको मात्र नभएर सभामुख र यो संसद जोगाउन लाग्ने प्रत्येक सांसदको परीक्षाको घडी आएको बताए ।
‘यस्तो हुन नदिन संसदले पनि संकल्प गर्नुपर्छ,’ उनले भने, ‘न त यो संसदलाई बेवास्ता गर्न दिइने छ, न त कामविहीन बनाउन । न त मनोमानि ढङ्गले स्थगित गर्न दिइने छ न त छल्न,’ सांसद थापाले भने, ‘यो संसद सरकारसँग डराउने होइन । सरकार यो संसदसँग डराउनुपर्ने छ– सांसदको प्रश्नसँग, संसदको निगरानीसँग ।’




प्रतिक्रिया