मन्त्रीको टुंगो लगाउन जसपाको बैठक बस्दै, ६ मन्त्रालय पाए आजै सरकारमा सहभागी हुने

मन्त्रीको टुंगो लगाउन जसपाको बैठक बस्दै, ६ मन्त्रालय पाए आजै सरकारमा सहभागी हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा)को कार्यकारिणी बैठक आज पनि बस्दैछ । मंगलबारदेखि जारी बैठक पार्टी कार्यालय बालकुमारीमा ११ बजे बस्न लागेको हो । आज बस्ने बैठकमा सरकारमा सहभागी हुने मन्त्रीको नाम टुङ्गो लगाउने बुझिएको छ ।

पार्टीले मन्त्रीको टुंगो लगाउने जिम्मा अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईलाई दिएपनि थप छलफल गर्न बैठक बोलाइएको नेता मोहम्मद इस्तियाक राईले बताए ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा जसपाले ६ मन्त्रालय दाबी गरेको छ । ६ मन्त्रालय दिए आज नै सरकारमा सहभागी हुने नेता राईले बताए । त्यस्तै जसपाले जेलमा रहेका रेशम चौधरीसहित ३६ सदस्यीय केन्द्रीय कार्यकारिणी बनाउने निर्णय गरेको छ ।

उक्त पार्टीको हिजो बसेको बैठकले निर्वाचन आयोगमा सनाखतका बेला तटस्थ बसेका चौधरीलाई पनि समेटेर अघि बढ्ने निर्णय गरेको हो ।
बैठकले एकता प्रक्रियामा आएका शिवलाल थापा मगरलाई पनि केन्द्रीय कार्यकारिणीमा मनोनित गरेको छ ।

निर्वाचन आयोगमा आफ्नो पक्षमा उभिएका ३४ तथा चौधरी र थापासहित जसपाको केन्द्रीय कार्यकारिणी ३६ सदस्यीय बनाइएको छ ।निर्वाचन आयोगमा महन्थ ठाकुर पक्षमा सनाखत गर्ने १६ जना पार्टीबाट स्वत हटेका छन् ।