सरकारमा जाने विषयमा नेपाल समूह नै विभाजित, एक पक्ष भन्छः पार्टी फुटाएर भए पनि सरकारमा जान्छौं

सरकारमा जाने विषयमा नेपाल समूह नै विभाजित, एक पक्ष भन्छः पार्टी फुटाएर भए पनि सरकारमा जान्छौं

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने विषयमा नेकपा एमालेको माधव नेपाल समूह विभाजित देखिएको छ । नेपाल समूहको एक पक्ष पार्टी एकतालाई केन्द्रमा राखेर अगाडी बढ्नुपर्नेमा जोड दिएको छ भने अर्काथरी भने पार्टी फुटाएरै भएपनि सरकारमा सहभागी बन्नुपर्ने तर्क गर्छन् ।

बुधबार पाँच दलीय गठबन्धनको बैठकमा नेपाल समूहका नेता डा. विजय पौडेलले आफूहरु सरकारमा सहभागी नहुने बताएका थिए । तर नेपाल पक्षमा रहेका २२जना सांसदले भने कानूनी अड्चन फुकाएर भएपनि सरकारमा सहभागी बन्न नेता नेपाललाई दवाब दिएका छन् । नेपाल पक्षका सांसद मेटमणी चौधरीले अध्यक्ष केपी शर्मा ओलीसँग विचारमा अलग भएकाले सँगै बस्नुको कुनै अर्थ नहुने बताए ।

‘देउवाजीलाई प्रधानमन्त्रीमा नियुक्त गर्न हामीले सुरुदेखि नै पहल गरेका हौं । अहिले नै सरकारमा जान हामीलाई कानूनी अड्चनहरु छन् । तीनलाई फुकाएर एकिकृत कम्युनिष्ट पार्टी निर्माण गर्छौं,’ उनले भने, ‘एमाले केपी ओलीको पार्टी हो भन्छन् । उहाँहरुसँग विचार नै अलग भएपछि सँगै बसिरहनुको के अर्थ ?’

गत साउन ३ गते प्रधानमन्त्री देउवालाई नेपाल पक्षका २२ जना सांसदले विश्वासको मत दिएका थिए । देउवालाई विश्वासको मत दिने सांसदहरुले अध्यक्ष ओलीसँग वारपार गर्नुपर्ने सुझाव दिएका थिए । उनीहरुले पार्टीमा मिल्न नसक्ने भए कानूनी रुपमा अलग हुन सुझाव दिएका हुन् ।

‘एकताका लागि पटक–पटक छलफल र वार्ता भइसकेका छन् । अब पनि अल्मलिएर बस्न सकिँदैन । हामीले तपाईको साथमा हामी छौं भनेका छौं । उहाँ (नेपाल)ले अन्य नेताहरुसँग छलफल गर्ने जवाफ दिनुभएको छ,’ नेपाल समूहका एक सांसदले भने ।

अर्का सांसद कृष्णकुमार श्रेष्ठ किसानले आफूहरुको पहिलो प्राथमिकता पार्टी एकता भएको बताए । उनले सम्मानजनक एकता भए मात्र स्वीकार गर्न सुझाव दिएको बताए । सांसद श्रेष्ठले देउवा नेतृत्वको सरकार निर्माणमा महत्वपूर्ण भूमिका खेलेकाले अन्तिम निर्णय गर्ने अधिकार नेता नेपाललाई दिएको जानकारी दिए ।

‘हाम्रै मतबाट पुनस्र्थापित संसद् र संसद्मा मत दिएर सरकार र संसद् दुवैलाई प्रभावकारी बनाउन भूमिका खेल्नुपर्छ । त्यसबारे अन्तिम निर्णय गर्ने अधिकार वरिष्ठ नेतालाई नै दिएका छौँ,’ उनले भने ।

यता नेपाल पक्षको अर्को समूह पार्टी फुटाएर जाने मनस्थितिमा छैन् । नेपाल पक्षका घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण विष्ट, रघुजी पन्तलगायतका प्रभावशाली नेताहरु एकताको पक्षमा छन् । उनीहरुले एमालेभित्र रहेर संघर्ष गर्नुपर्ने बताउँदै आएका छन् ।

वारपार गर्न अध्यक्ष ओलीको निर्देशन

एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाल पक्षसँगको वार्ता वारपार गर्न निर्देशन दिएका छन् । बुधबार पार्टी कार्यालय थापाथली पुगेका अध्यक्ष ओलीले शनिबारसम्म नेपाल समूहसँगको वार्ता वारपार गर्न महासचिव ईश्वर पोखरेललाई निर्देशन दिएका हुन् । उनले शनिबार स्थायी कमिटी बैठक बोलाउने गरी तयारी थाल्न महासचिव पोखरेललाई निर्देशन दिएका हुन् ।

‘पार्टीलाई एकताबद्ध बनाउन मैले धेरै लचकता अपनाई सकें । अब धेरै पर्खनु हुँदैन । शनिबारसम्म सबै मिलाउनूस् । सोही दिनको स्थायी कमिटी बैठकमा निर्णय गरौंला भन्नुभएको छ’, अध्यक्ष ओली निकट एक सांसदले भने ।

उनको निर्देशनसँग विघटित कार्यदलका सदस्यहरु आन्तरिक छलफलमा जुट्ने भएका छन् । उनीहरुबीच आजै भेटवार्ताको तयारी भएको छ । विघटित कार्यदलमा ओली पक्षबाट सुवास नेम्वाङ, बिष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र बिष्णु रिमाल छन् भने माधव नेपाल पक्षबाट भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र रघुजी पन्त छन् ।