काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा) ले संसदीय दलको नेता शनिबार चयन गर्ने भएको छ । बिहीबार बसेको जसपा कार्यकारिणी बैठकले शनिबार संसदीय दलको नेता चयन गर्ने निर्णय गरेको हो ।
यद्यपी, संसदीय दलको नेताका लागि दाबेदारहरुको टुंगो भने लागिसकेको छैन । जसपाले दलको नेता सकेसम्म सहमतिमा छान्ने, नभएमा निर्वाचनमा जाने निर्णय गरेको छ ।
तीन दिनसम्म बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले केही नेताहरुको कार्य विभाजनसमेत गरेको छ । जसअनुसार पार्टीभित्र परेका उजुरीहरूको छानविन गर्ने समितिको संयोजकमा नवराज सुवेदीलाई राखिएको छ ।
त्यसैगरी अनुशासन समितिको संयोजक नरसिंह चौधरीलाई तोकिएको छ । यसअघि अनुशासन समितिमा लक्ष्मणलाल कर्ण थिए । कर्ण महन्थ ठाकुर पक्षमा लागेका छन् । प्रतिनिधिसभामा जसपाका कुल ३४ सांसदमध्ये २ जना निलम्बित छन् ।
बाँकी ३२ मध्ये १० जना महन्थ ठाकुर पक्षमा छन् । बाँकी २२ मध्येबाट संसदीय दलको नेता चयन गर्नुपर्ने हुन्छ । यसअघि नै बैठकले संसदीय दलको विधान पारित गरिसकेको छ ।




प्रतिक्रिया