काठमाण्डु – भारतीय एसएसबीले तुइन काट्दा दार्चुलामा एक जना बेपत्ता भएका छन् । व्यास गाउँपालिका– २ मालघाटमा महाकाली नदी तर्ने क्रममा एसएसबीले तुइन काटिदिँदा माल खानदानका ३५ वर्षीय जयसिंह धामी बेपत्ता भएका हुन् ।
शुक्रबार बिहान महाकाली नदी तर्ने क्रममा एसएसबीले देखेपछि तुइन काटिदिएको प्रत्यक्षदर्शीले बताएका छन् । उनी साथीहरुसँग सामान लिन भारतको बाटो हुँदै दार्चुला आइरहेका थिए । तर, जयसिंह तर्ने वेला एसएसबीले तुइन काटिदिएकाे हाे ।
नदीको बीचभागमा पुग्ने वेला तुइन काटिएपछि उनी बेपत्ता भएको स्थानीय विक्रमसिंह धामीले जानकारी दिए ।
‘भारततर्फ पुग्ने वेला एसएसबीले एक्कासि तुइन काटिदियो,’ उनले भने, ‘नदीको बीचभागमा पुग्ने वेला तुइन काटिएपछि उनी बेपत्ता भएका हुन् । ५–६ जना स्थानीय सामान लिन भारतको बाटो हुँदै दार्चुला आइरहेका थियौँ । ’
बेपत्ता भएका धामीको खोजीका लागि अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरी घटनास्थलमा गइरहेको छ । नेपालतर्फ सडक नभएका कारण व्यास क्षेत्रका स्थानीय दार्चुला सदरमुकाम खलंगा आउनका लागि भारतको बाटो हुँदै आउनुपर्ने बाध्यता रहेको छ ।




प्रतिक्रिया