काठमाण्डु – सरकारले चैत मसान्तसम्म सबै नेपालीलाई खोप लगाउने बताएकाे छ । शुक्रबार एक विज्ञप्तिमाफर्त स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चैत मसान्तभित्र खोप लगाउनेगरी सरकारले खोपको व्यवस्थापन गरिरहेको जनाएको हो ।नेपाललाई आवश्यक थप खोपका लागि चीनको सिनोफार्म कम्पनीसँग ६० लाख डोज खोप खरिदको सम्झौता प्रक्रिया अघि बढिसकेको मन्त्रालयले जनाएकाे छ ।
साथै कोभ्याक्स सुविधामार्फत् जापान सरकारले अनुदानमा दिने १६ लाख र भारतबाट खरिद गरी बाँकी रहेको १० लाख डोज खोप प्राप्त हुँदा असोजभित्र एक करोड ८३ लाख ८२ हजार ८५० डोज खोप प्राप्त हुने मन्त्रालयले जनाएको छ ।
यसैगरी, कोभ्याक्सबाट लागत सहभागितामा खरिद गरी १ करोड ५० लाख डोज र १२ वर्षमाथिका बालबालिकालाई ६० लाख डोज फाइजरको खोपका लागि प्रक्रिया अगाडि बढिरहेको मन्त्रालयले जनाएको छ । गाभी कोभ्याक्सबाट नि:शुल्क २० प्रतिशत जनसंख्याको लागि प्राप्त हुने १ करोड १३ लाख डोज पनि प्राप्त हुँदा चैत मसान्तसम्म खोप सबै नेपालीहरुको पहुँचमा पुग्ने बताइएको हो ।
मन्त्रालयका अनुसार अहिलेसम्म ९७ लाख ८२ हजार ८५० डोज खोप प्राप्त भइसकेको छ । जसमध्ये चीनबाट अनुदानमा १८ लाख र खरिद सम्झौता भएका ४० लाख डोजसहित कुल ५८ लाख डोज भेरोसेल खोप प्राप्त भएको मन्त्रालयले जनाएको छ ।





प्रतिक्रिया