रेकर्ड नै रेकर्ड बनाउने डा. धर्मराज उपाध्याय

रेकर्ड नै रेकर्ड बनाउने डा. धर्मराज उपाध्याय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – इच्छाले जिन्दगीको बाटो कोरिन्छ । र, सपनाहरूले हिँड्न सिकाउँछन् । उदेश्यले कोही सपना पूरा गर्न सफल हुन्छन् त कसैको सपनाले मूर्तरुप लिन नसक्दा योजना बीचमै तुहिन्छ । आफ्ना सपना साकार पार्ने ध्येय र हुटहुटी बोकेर एक युवा काठमाण्डु छिरे । उनलाई सपना देख्नु मात्र थिएन, देखेका सपना साकार बनाउनु थियो ।

यही उदेश्य लिएर २०३५ सालमा वीरगञ्जका धर्मराज उपाध्याय (डा. डीआर ) काठमाण्डु प्रवेश गरे । काठमाण्डु उनकाे सपना पुरा गर्ने उपयुक्त स्थल थियो । जहाँबाट आफूले देखेका सपना साकार हुन्थे । केही फरक र नयाँ काम गरेर देखाउने सपना पालेका थिए उनले ।सुरुवातमा मेडिकल सर्जन बनेर सेवा गर्ने उदेश्य लिएका थिय तर सपना पुरा गर्न उनका लागि त्यति सहज भने थिएन ।

घर परिवार छोडेर भीडैभीडको शहर काठमाण्डु आए पनि उनका लागि यो नितान्त एक्लो थियो । काठमाण्डु छिरेसँगै धर्मराजको संघर्षका दिन सुरु भए । सबै कुरा सामान्य ढङ्गले चल्दा जिन्दगी ठिकै जस्तो लाग्छ ! तर, कहिले काहीँ परिस्थिति सोचेभन्दा फरक भइदिँदा समस्यै समस्याले घेर्न थाल्दो रहेछ ।

उपाध्यायको जीवनमा पनि यस्तै भयो । २०३५ सालमा वीरगञ्जको त्रिजुद्ध हाई स्कुलबाट एसएलसी दिएपछि अनेकानेक सपना देखेर काठमाण्डु आएका उपाध्यायले काठमाण्डुलाई आफुले कल्पना गरेभन्दा धेरै भिन्न पाए । आकाश पातलको भिन्नता थियो । घरको सुख सयल नोकर चाकर छाडेर केही गर्ने अठोट लिएर आएका उनलाई काठमाण्डुले धेरै हण्डर दियो ।

ठक्कर खाँदै फेरी उठ्दै गर्दा अहिले पिएचडिसम्म गर्न सफल भए । त्यतिमात्र होइन संगितको क्षेत्रमा अरुलेभन्दा फरक काम गरेर ५२ वटा रेकर्ड उनका नाममा दर्ज भए । अहिले उनलाई नचिन्ने सायदै होलान् । उनले गिनिज बुकमा ३ वटा रेकर्ड कायम गरेका छन् । योसँगै हालसम्म उनले ५२ वटा अन्तराष्ट्रिय रेकर्ड बनाउन भ्याएका छन् ।No description available.

सानैदेखि अरुभन्दा फरक काम गर्न रुचाउने डिआर अहिले त्यही क्षमताका कारण चर्चाको शिखरमा उक्लिन सफल भएका छन् । ‘हिजोको दिन सम्झन्छु । म सँग पैसा थिएन । काठमाण्डुको ठाउँमा १ सय रुपैयाँ घरबहाल तिर्नुपथ्र्यो । खान बस्न निकै धौधौ थियो । तर, आज हेर्छु, हिजोको दुःख सम्झदै लामो सास फेर्छु । सायद यही होला दुःख पछि सुःख भनेको जस्तो लाग्छ,’ विगतमा आफूले पाएका दुःख उनले यसरी सुनाए, ‘मैले जिन्दगीमा धेरै दुःख पाएँ ।

तर, पढाइलाई ब्रेक कहिल्यै लगाइन । त्यसैले आज म यहाँ छु, हिजोको दुख अर्कै थियो । गोरखापत्र किनेर पढ्ने पैँसा हुँदैनथ्यो अनि संस्थानमै पुगेर टाँसेको पत्रिका पढेर फर्कन्थेँ । त्यो उमेरमा मिठो खान असाध्यै मन लाग्ने । जेरीस्वारी खान मन पथ्र्यो, मन लाग्थ्यो । तर, पैसा हुन्थेन । घरबाट बाहिर रहेर एक्लै संघर्ष गरे ।’

आफ्नो अवस्थाबारे घरमा जानकारी नगराउँदा पनि उनले धेरै दुःख पाए । पढाइमा तेज भएकाले राम्रो पढेवापत् कलेजले महिनाको २ सय रुपैँया दिन्थ्यो त्यही पैसा उनलाई सबैथोक जस्तो लाग्थ्यो । भोगाइका क्रममा अनेक समस्याका कारण डाक्टर बन्ने सपना बोकेका डिआरले आर्थिक अभावमा मेडिकल शिक्षा बिचमै छोड्नुपरेको थियो ।

‘मैले मेडिकल शिक्षा सुरु गरेँ । जुन बेला शिक्षण अस्पताल बनेकै थिएन । सपना त मेडिकल सर्जन बन्ने थियो । तर, बाध्यताले बिचमै छोड्नुपर्यो,’ उनले भने, ‘जीवन चलाउन र शिक्षालाई अगाडी बढाउन मैले त्यो बेला डल्लो साबुन पाईन्थ्यो । त्यसको व्यापार सुरु गरेँ । घरघर बेच्दै हिंडे । कहिले कुखुराको अण्डा बेचे ।

त्यसबाट साहुले केही रकम दिन्थ्यो त्यसैले गुजारा चलाउनु परेको थियो ।’ मेडिकल डाक्टर नभएपनि अहिले उनले समाजशात्रमा विद्यावारिधी गरेका छन् । डीआरले वेश्यावृति समस्या एवम् सामाजिक समाधान विषयमा गहन अध्ययन तथा अनुसन्धान गरेर भारतको बिएनबी विश्वविद्यालयवाट पिएचडी गरेका हुन् ।

No description available.

यस्तै उनी पारिवारिक विचलनको बिषयमा पनि भारतकै स्वामी विवेकानान्द विश्वविद्यालयबाट विद्यावारीधिको अन्तिम चरणमा छन् । संघर्षको समयमा साथ छाड्नेहरु पनि अहिले हात समाउन आउने गरेको उनले बताए । अनि उनको विश्वकिर्तीमानी सबै नेपालीको गौरवको विषय बनेको छ । नेपाली समसामयिक उपन्यास विधाबाट चर्चाको शिखरमा पुगेका उपाध्याय अझैपनि नयाँ नयाँ रेकर्ड कसरी बनाउन सकिन्छ भन्ने सोचमा छन् । नेपाललाई केही न केही तरीकाबाट चिनाउन उनी क्रियाशिल छन् ।

एउटै गीतलाई १२ भाषामा लेखेर गिनिज बुक अफ वल्र्ड रेकर्ड राखेयता धेरै विधामा किर्तिमान बनाएका छन् । एकै दिन ३६ वटा राष्ट्रिय दैनिकमा महिला हिंसासम्बन्धी लेख लेखेवापत् पनि गिनिज बुक अफ वर्ड रेकर्डमा रेकर्ड कायम गरेका छन् । गिनिज बुकमा ३ वटा विधामा रेकर्ड कायम गरेका छन् । यो संगै उनले हालसम्म ५२ वटा अन्तराष्ट्रिय रेकर्ड समेत बनाएका छन् । अध्ययनमा रुचि राख्ने उपाध्याय सामाजिक विषयमा कलम चलाइरहन्छन् ।

 

राजनीतिमा त्यति रुचि नराख्ने उपाध्यायले देशमा भइरहेको स्रोत र साधनको उपयोगमा सरकार लाग्नुपर्ने सुझाव दिएका छन् । लेखनमा मात्र नभई उनले केही सन्देशमुलक म्युजिक भिडियोमा समेत अभिनय गरेका छन् । उपाध्यायका प्रणय कृति माउण्टन मेलोडी, नशालु नजर, सेमेन्थ कडस अनुभूतिको मझेरीलगायतका १९ वटा गीति एल्वमका साथै सयौं गीत सार्वजनिक भएका छन् ।

त्यस्तै आधा दर्जनभन्दा बढी उपन्यास प्रकाशित हुने उपक्रममा रहेका छन् । भनिन्छ दुखपछि सुख आउछ उपाध्यायको जिवले पनि दुखसंग पैठाजोरी खेल्दै अहिले सुखमा रमाइरहेका छन् । काठमाण्डुको सिफलमा रहेको घर प्रमाणपत्रले भरिएका छन् । प्रेम, रोमान्स, ट्रयाजेटी देखि स्वास्थ्य तथा योगसम्मका गीत लेख्दै आएका उपाध्यायले ‘वल्र्ड बुक्स अफ अमेरिका’, अष्ट्रेलिया, लण्डन, ‘मिराकल वल्र्ड रेकर्ड’, ‘इण्डिया स्टार वल्र्ड रेकर्ड’, ‘एक्सक्लुसिभ वल्र्ड रेकर्ड’, ‘जीनस वल्र्ड रेकर्ड’ र ‘एभरेष्ट वल्र्ड रेकड’ प्राप्त गरेका छन् ।