स्तनपानले शिशुलाई मात्र होइन आमालाई पनि फाइदा हुन्छ

स्तनपानले शिशुलाई मात्र होइन आमालाई पनि फाइदा हुन्छ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – स्तनपान शिशुको जन्मसिद्ध अधिकार हो । हरेक विवाहित महिलाका लागि आमा बनेपछि अर्को ठूलो खुशी भनेकै आफ्नो सन्तानलाई गराउने स्तनपान नै हो ।

स्तनपानले आमा र बच्चाबीचको ममतालाई अझ प्रगाढ बनाइदिन्छ । बालरोग विशेषज्ञ डा. दिपक प्रसाद कोइराला शिशुलाई ‘एक्सक्लुसिभ ब्रेष्ट फिडिङ’ (शिशु जन्मेको ६ महिनासम्म आमाको दूध मात्र खुवाउनु) गराउनु पर्ने बताउँछन् । ६ महिनासम्म आमाको दूधबाहेक पानी पनि खुवाउन नपर्ने उनको भनाई छ ।

आमाको दुधमा बच्चालाई चाहिने पोषण तत्व पाइनुका साथै रोगप्रतिरोधी क्षमताको समेत वृद्धि हुने उनको भनाइ छ । शिशु जन्मेको एक घण्टाभित्र आमाको दूध खुवाइसक्नुपर्ने भएतापनि हाम्रो समाजमा अझै पनि बच्चा जन्मेपछि मह, घिउलगायत चटाउने चलन छ ।

शिशु जन्मने वित्तिकै शिशुलाई आमाबाट पर राख्ने अनि दूध चुसाउने कोशिस नै नगरी बोटल फिडिङ गराउँदा शिशुको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने भएकाले शिशुलाई आमासँगै राख्नु पर्ने डा. कोइरालाको सुझाव छ । बोतलको दुध खाने शिशुभन्दा स्तनपान गर्ने शिशुलाई कब्जियत हुने र पाचन सम्बन्धि समस्या नहुने उनको भनाइ छ ।

स्तनपान गराउनाले तपाईंको शिशुको मस्तिष्कको प्रारम्भिक विकासमा पनि सहयोग पुग्ने डा. कोइरालाले बताए । शिशुलाई मात्र नभएर स्तनपान गराउने आमालाई पनि फाइदा पुग्ने डा. कोइरालाले बताए । स्तनमा रहेको दुधले अक्सीटोसिन नामक एक किसिमको हार्मोन पनि छोड्छ, जसले गर्भाशयलाई सहि आकारमा आउन सहयोग गर्छ । त्यसबाहेक प्रसवपछि अत्याधिक रक्तश्राव कम गर्न सहयोग गर्छ ।

६ महिनासम्म पूर्ण स्तनपान र २ वर्षसम्म थप खानासहित स्तनपान आमा र शिशु दुवैको स्वास्थ्यको बलियो आधार हो भन्ने सत्यलाई स्थापित गर्न हरेक वर्ष अगस्ट १ तारिखलाई विश्व स्तनपान दिवसको रुपमा मनाउने गरिन्छ ।

विश्व स्वास्थ्य संगठनको आह्वानमा सन् १९९० देखि हरेक वर्ष अगस्ट १ देखि ७ सम्म विश्व स्तनपान सप्ताह मनाउन शुरु गरिएको हो । विश्वभर स्तनपान सप्ताहको विश्व स्वास्थ्य संगठन र युनिसेफले अगुवाई गर्दै आइरहेका छन् ।