काठमाण्डु – नेकपा एमाले विभाजनको संघारमा पुगेको छ । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको विवाद उत्कर्षमा पुगेपछि एमाले विभाजनको संघारमा पुगेको हो ।
अध्यक्ष ओलीले २०७५ जेठ २ को अवस्थामा कमिटीका बैठक राखेर निर्णय गर्नुपर्नेलगायतका माग राख्दै नेपाल पक्षले असन्तुष्टी जनाउँदै आइरहेको । तर, ओलीले सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलापछि आफू पक्षका नेताहरुको बैठक बोलाएर एकलौटी आवश्यक निर्णय गरेको भन्दै नेपाल पक्ष रुष्ट बन्दै आइरहेको छ ।
नेपाल पक्षका सांसद यज्ञराज सुनुवारले एमालेमा जुन समस्याहरु देखा परे तिनै कारणले मुलुक, देशको राजनीति यो ठाउँमा पुगेको बताए । उनले सकारात्मक ढंगले अगाडि बढाउने र सहमति निकाल्ने कुरामा कार्यदलले गरेका कामलाई निरर्थक बनाउने प्रयासहरु भइरहेको बताए ।
‘त्यो प्रस्तावहरुलाई विगत देखि नै यहाँलाई थाहा छँदैछ । एमालेमा जुन समस्याहरु देखा परे तिनै कारणले मुलुक, देशको राजनीतिक यो ठाउँमा पुगेको छ । यी समस्या समाधानका लागि हामीले फागुन २३ गते सर्वोच्च अदालतले जे फैसला गर्यो त्यही अनुरुपमा एमालेको ९ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको बैठक गरेको भए मुलुकको राजनीतिक कोर्ष अर्कै हुन्थ्यो,’ सांसद सुनुवारले भने, ‘सकारात्मक ढंगले अगाडि बढाउने र सहमति निकाल्ने कुरामा कार्यदलले गरेका प्रयासलाई निरर्थक बनाउने प्रयासहरु एकताविरुद्ध हुन । हामीले २०७१ सालको ९ औं महाधिवेशनले विधान पास गर्यो त्यसको बैठक बसेर निर्णय लिनुपर्ने हो । त्यो निर्णय नलिई आफ्नो आफ्नो विचारका आधारमा भएका निर्णयहरु पार्टीका निर्णय हुन सक्दैनन् नि । जुन समस्या उत्पन्न भए । त्यो कार्यकर्ताबाट उत्पन्न समस्या होइन । मूलतः नेतृत्व तहबाट उत्पन्न भएका समस्या हुन् ।’
उनले अहिले आफूहरुले माधव नेपाललाई अध्यक्ष बनाउनुपर्छ भन्ने माग नराखेको बताए । सांसद सुनुवारले पार्टी एकता मुख्य कुरा भएको भन्दै अध्यक्षको विषयमा छलफल नै नभएको दाबी गरे । तर, नेता नेपालले आफूलाई ओली सरहको हैसियत दिए मात्र पार्टी एकता सफल हुने बताइसकेका छन् । उनले दोस्रो तहको अध्यक्षको माग गरेका हुन् ।
‘जेठ २ मा फर्काउने कुरा राजनीतिक कुरा हो । सुद्धृढ पार्टी एकताका लागि शीर्ष नेतृत्व तह र कार्यदलमा जे सहमति भएको छ कसैले विमति राखेका छैनन् । अहिले अध्यक्षको तहमा छलफल भइरहेको छैन् । अहिले पार्टीलाई कसरी एकताबद्ध गराउने भन्ने विषयमा छलफल भएको छैन् । पार्टी एकता आन्दोलनलाई एकताबद्ध बनाउने सन्र्दभमा नेतृत्व र कार्यकर्ताले सकारात्मक रुपमा लिएका छन्’, सांसद सुनुवारले भने ।
एमालेका प्रमुख सचेतक विशाल भट्टराईले माधव नेपाले पार्टी छोडेर हिँडेको आरोप लगाए । तपाईहरुले माधव नेपाललाई छोडेको हो ? भन्ने प्रश्नमा प्रमुख सचेतक भट्टराईले पार्टीले उनीहरुका मागहरु पूरा गर्दैगर्दा नेता नेपाल तर्किएर हिँडेको आरोप लगाएका हुन् ।
‘हामीले उहाँ (माधव नेपाल)लाई छोडेको होइन । उहाँले चाँही हामीलाई छोड्नु भएको हो । सुरुमा उहाँले जेठ २ फर्किनूस् भन्नुभयो त्यो पनि गर्यौं । दोस्रो पदाधिकारी पुनःस्थापित गर्नु र १० औं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी भंग गरेर केन्द्रीय कमिटीलाई पुनःस्थापित गर्न भन्नुभयो त्यो पनि गर्यौं । फेरी उहाँले अर्को सर्त थप्नुभयो । कार्यदल बनाऊ । कार्यदलको १० बुँदे रिपोर्ट दियौं । त्यो पनि मान्नु भएन,’ उनले भने ।
महाधिवेशनमा हारेको व्यक्तिले अध्यक्ष चाहियो भन्नु मूर्खतापूर्ण भएको बताउँदै भट्टराईले अर्को पार्टीको सभापतिलाई भोट हाल्ने, अरुलाई प्रधानमन्त्री बनाएर आफ्नो पार्टीको प्रधानमन्त्रीलाई गिराउने निच काम केही हुनै नसक्ने बताए । उनले नेकपा एमाले जेठ २ मा जाने भनेपछि जेठ २ मा जो जुन जिम्मेवारीमा थिए उनीहरुलाई तदअनुरुपको जिम्मेवारीमा रहेर पार्टी द्रुत गतिमा अगाडि बढ्ने बताए ।
‘९ औं महाधिवेशनमा आफैं हारेको केपी ओलीलाई अध्यक्ष छोडेर मलाई चाहियो भनेपछि यो भन्दा मूर्खतपूर्ण अधिव्यक्ति अरु केही हुनै सक्दैन । अर्को पार्टीको सभापतिलाई भोट हाल्ने, अरुलाई प्रधानमन्त्री बनाएर आफ्नो पार्टीको प्रधानमन्त्रीलाई गिराउने । यो भन्दै राजनीतिक संस्कारका दृष्टिकोणले निच काम केही हुनै सक्दैन,’ उनले भने, ‘त्यसकारण आफ्नो पार्टीलाई समाप्त पार्ने निकृष्ट काम गरेकाले निरन्तर हामीलाई छोडेर अगाडि बढ्दै हुनुहुन्छ । नेकपा एमाले जेठ २ मा जाने भनेपछि जेठ २ मा जो जुन जिम्मेवारीमा हुनुहुन्थ्यो । उहाँहरुलाई तदअनुरुपको जिम्मेवारीमा रहेर पार्टी द्रुत गतिमा अगाडि बढ्छ । हिमाल, पहाड र तराई कुनाकन्दरामा पार्टी पुग्छ । एमालेको नामै काफी छ ।’
नेपाल पक्षलाई पार्टी भन्दा सरकारको चिन्ता
माधव नेपाल पक्षलाई पार्टी एकता भन्दा सरकारको चिन्ता बढी देखिएको छ । नेपाल पक्षका सांसद मेटमणी चौधरीले सरकारमा जानु आफूहरुको जिम्मेवारी भएको बताए । नेपाल पक्षकै नेताहरु घनश्याम भुसाल, गोकर्ण विष्ट,लगायतका नेताहरुले पार्टी एकताका लागि सरकारमा जान नहुने बताइरहेका बेला सांसद चौधरीले सरकारमा जानु आफूहरुको कर्तव्य भएको बताए ।
‘हामी सरकारमा जान्छौं । किनकी देउवालाई प्रधानमन्त्री बनाउका लागि धेरै मेहनत गर्नुप¥यो । उनी प्रधानमन्त्री बन्ने अवस्था पनि थिएन । उनलाई प्रधानमन्त्री बनाउन हामीले सर्वोच्च अदालतमा समेत हस्ताक्षर ग¥यौं । संसदमा विश्वासको मत दियौं,’ उनले भने, ‘सरकारमा किन जानुपर्छ भने प्रतिनिधिसभालाई पूरै कार्यकाल टिकाउनुपर्छ । यदि हामी सरकारमा गएनौं भने फेरि अर्को प्रधानमन्त्री अथवा सरकार फेरिने चक्रमा मुलुक फस्छ । त्यसैले प्रतिनिधिसभालाई पुरै कार्यकाल टिकाउनका लागि सरकारमा हाम्रो सहभागिता हुनुपर्छ । यो सरकारलाई राष्ट्रिय सहमतिको सरकार बनाउने, त्यसपछि हाम्रो उपस्थिति हुने अनि जनतालाई हाम्रो सरकार छ, सर्वोच्चले गरेको पुनःस्थापना ठीकै छ भन्ने सन्देश मनोवैज्ञानिकरूपमा दिनुपर्छ ।’
नेपाल पक्षलाई पनि सरकारमा सहभागी गराउने विषयमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अन्तिम कसरत गरिरहेका छन् । सरकारमा सहभागी गराउनका लागि उनले निरन्तर जसो नेता नेपालसँग भेटवार्ता गरिरहेका छन् । तर, नेपालले पार्टी एकताका लागि सरकारमा सहभागिता जनाउन नहुने बताउँदै आएका छन् ।
आइतबार बसेको पार्टीको स्थायी कमिटी बैठकमा ब्रिफिङ गर्दै अध्यक्ष प्रचण्डले नेता नेपाल सरकारमा पनि आउन नसक्ने र पार्टीमा मिल्न पनि नसक्ने अवस्थामा रहेको बताएका थिए ।
‘माधवजी अहिले बडो अप्ठेरो अवस्थामा हुनुहुन्छ । तत्कालै सरकारमा सहभागी हुने अवस्था पनि देखिएन । पार्टीमा पनि उहाँले चाहे जस्तो हुने अवस्था बनेको छैन,’ प्रचण्डको भनाई थियो, ‘परिस्थिति अहिले अलिकति फेरिएको छ । माधवजी एमालेमै फर्किने सम्भावना बढेको छ । यो विषयमा शेरबहादुरजी र उपेन्द्रजीसँग छलफल गर्नुपर्ने भयो ।’




प्रतिक्रिया