काठमाण्डु – स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारी सुविधा नलिने घोषणा गरेका छन् । उनले सुरक्षाकर्मीबाहेक सरकारले दिने आवास, तलबभत्तालगायत सुविधा नलिने बताए ।
सोमबार मन्त्रालयमा आफ्नो एक सय दिने कार्ययोजना सार्वजनिक गर्दै राज्यमन्त्री श्रेष्ठले कुनै पनि सरकारी सुविधान नलिने घोषणा गरेका हुन् ।
व्यापारीलाई मन्त्री बनाएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाको चर्को आलोचना भइरहेका बेला राज्यमन्त्री श्रेष्ठले यस्तो घोषणा गरेका हुन् । उनले मन्त्री पदमा रहुञ्जेल व्यावसायिक संस्थाबाट अलग रहेकोसमेत घोषणा गरे ।
त्यस्तै राज्यमन्त्री श्रेष्ठले कोरोना भाइरसविरुद्धको थप पाँच करोड २३ लाख डोज खोप उपलब्ध हुने बताए । उनले कोभ्याक्स सुविधाअन्तर्गत एक करोड १३ लाख खोप पाउने र कोभ्याक्स लागत सहभागितामा एक करोड ५० लाख खोप खरिद हुने बताए ।
राज्यमन्त्री श्रेष्ठले कोभ्याक्स लागत सहभागितामा खरिद गरिने खोपमध्ये ४० लाखको भुक्तानी भइसकेको र एक करोड १० लाखको भुक्तानी प्रक्रियामा रहेको बताए ।
‘समग्रमा पाँच करोड २३ लाख डोज खोप प्राप्त हुने अवस्था छ,’ उनले भने ।
प्रधानमन्त्री देउवाले साउन १० गते राज्यमन्त्रीमा नियुक्त भएका थिए । सत्ता गठबन्धनसँग छलफल नै नगरी मन्त्रिमण्डल विस्तार गरेको भन्दै गठबन्धनका नेताहरुले असन्स्तुष्टी जनाएका थिए । तर, प्रधानमन्त्री देउवाले अब देखि गल्ती नदोहोर्याउने बताएका थिए ।




प्रतिक्रिया