काठमाण्डु – जाजरकोटकाे जुनीचाँदे गाउँपालिका वडा नम्वर २ का वडाध्यक्ष रामबहादुर नेपालीले एक स्थानीय युवालाई कुटेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । वडाध्यक्षले ती युवालाई डोरीले बाँधेर कुटेको भिडियोमा देख्न सकिन्छ ।
साउन १५ गते रक्सिले मातेका सर्ते नेपाली (नवीन परियार) सामाजिक सुरक्षा भत्ता वितरण भइरहेको स्थानमा पुगेका थिए । उनले होहल्ला गरेपछि वडाध्यक्षले कुटेको स्थानीयले बताएका छन् । सुरुमा युवकले सामाजिक सुरक्षा भत्ता वितरणमा अनियमितता गरेको आरोप लगाएका थिए ।
त्यतिकैमा भनाभन हुँदै जाँदा सहभागी वडाध्यक्षकी श्रीमतीलाई युवकले अपशब्द प्रयोग गरेपछि वडाध्यक्ष उनिमाथी जाइलागेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै हाम्रा सम्वादाताले जनाएका छन् । घटना भएकै दिन प्रहरीको रोहबरमा वडाध्यक्षले पीडितलाई आमा चन्द्रा दमाईको जिम्मा लगाएका थिए । वडाध्यक्षले गल्ति ढाकछोप गर्न मिलापत्र गरेको आरोप लागेको छ ।
प्रहरी घटनास्थल पुग्दा युवकलाई थुनेर राखिएको थियो
घटनाको सूचना पाएको प्रहरीले स्थानीयसंग सोधपुछ गरेर दुवैजनालाई मिलाएको दाबी गरेको छ । मिलापत्र कागजमा पीडितले अबदेखि गल्ती नगर्ने र गल्ती गरे प्रचलित नियम कानुनअनुसार सजाय भोग्न तयार हुने प्रतिबद्धता जनाउँदै हस्ताक्षर गरेको देखिन्छ । तर, उक्त भिडियोमा वडाध्यक्ष नेपालीले कुटेको देखिन्छ ।
पीडितलाई नै दोषी करार किन भनेर काठमाण्डुपाटीले गरेको प्रश्नमा इलाका प्रहरी कार्यालय पाञ्जालकका प्रहरी सहायक निरीक्षक दुर्गाबहादुर शाहीले भने, ‘प्रहरी घटनास्थल पुग्दा साँझ परेको थियो । हामी पुग्दा ति युवकलाई कोठामा थुनेर राखिएको थियो । केही स्थानीयसंगको सोधपुछ पछि फेरी यस्तो गल्ती नदोहोर्याउने सहमती गरी युवकलाई परिवारको जिम्मा लगाइएको हो ।’
साथै उनले भाइरल भएको भिडियोको विषयमा पछिमात्र जानकारीमा आएको बताए । प्रहरी सहायक निरीक्षक शाहीले भने, ‘हामीले सोधपुछ गर्दा युवालाई नै दोषी देखाइएको थियो । तर, पछि भिडियोमा अर्कै रहेछ यसबारे हामीले जिल्ला प्रहरीमा जानकारी गराएका छौँ । आज दुवै पक्षलाई बोलाइएको छ ।’ उनले दुवैको गल्ती रहेकाले कानुनअनुसार सजाय हुने बताए ।
वडाअध्यक्ष भन्छन्ः मैले कुटेकै छैन्
यता वडाअध्यक्ष नेपालीले आफुले युवकलाई कुटेको अस्वीकार गरेका छन् । आफुलाई फसाउन केही समुहले भ्रम फैलाउन खोजेको उनको आरोप छ । युवकलाई आफुले कुटेको नभई प्रतिरक्षा मात्र गरेको वडाध्यक्ष नेपालीले बताए ।
उनले भने, ‘हामीले सामाजिक सुरक्षा भत्ता बाँडिरहेका थियौं । त्यहाँ धेरै वृद्धवृद्धा, बालबालिका एकल महिला गरी करीब २ सय जना जति थियौं । ति युवक समूहमा आएर हल्लाखल्ला गरे । सहभागीहरुलाई ढुङ्गा हान्न थालेपछि मैले उनको हातबाट ढुङ्गा खोसेको हुँ तिनको हातको ढुङ्गा खोस्न यताउता सारेको मात्रै हो ।’
वडाध्यक्ष नेपाली डोरी पनि युवकले साथमै ल्याएको बताउँछन् । ‘ति युवक मेरो भतिजो पर्ने हुन् । आएर हल्ला खल्ला गरेपछि मैले सबैलाई जोगाउनै पर्यो । कतिपयले डोरीले बाधेर पिट्यो भन्नु भएको छ । तर, डोरी ति युवकको हातमै थियो । हातको ढुङ्गा खोस्न खोज्दा डोरी अल्झिएको हो । मलाई फसाउन भ्रम फैलाए ।’
उनले युवकलाई सम्झाएर प्रहरीको जिम्मा लगाएको दाबी गरे । ‘ढुङ्गा खोसेर मैले उसलाई धेरै सम्झाए यदी मैले उसको हातबाट नखोसेको भए त्यहाँ जे पनि हुनसक्थ्यो । एकतर्फीमात्र सोचेर भएन । मैले २ सय जना बचाउन उसलाई नियन्त्रणमा लिएको हुँ । कुटेको होइन । पछि प्रहरी आइसकेपछि उसले माफ माग्यो त्यत्ति हो ।’
तर स्थानीय एक युवकले खिचेको भिडियोमा वडाध्यक्ष आफैंले कुटपिट गरिरहेको देखिन्छ । घटना साउन १५ गतेको भएको जाजरकोट प्रहरीले जनाएको छ । कुटपिट गरेको भिडियो भने मंगलबार सामाजिक सञ्जालमा सार्वजनिक भएपछि यतिबेला भाइरल बनेको छ । भिडियो सार्वजानिक भएपछि प्रहरीले स्थलगत छानविन गरेको बताइएको छ ।




प्रतिक्रिया