काठमाण्डु – सर्वोच्च अदालतले महन्थ ठाकुरको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । ठाकुरले उपेन्द्र यादव पक्षलाई जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता दिने निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए । उक्त रिटविरुद्ध सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
बुधबार न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले कारण देखाऊ आदेश जारी गर्दै निर्वाचन आयोगले राजनीतिक दल सम्बन्धी ऐन २०७३ ले निर्धारण गरेको प्रकृयालाई अवलम्बन गरी दलको आधिकारिकताको विवाद निरुपण गरेको हुँदा अन्तरिम आदेश जारी गर्नु नपरेको आदेशमा उल्लेख गरेको छ ।
ठाकुरले दायर गरेको रिटमा सर्वोच्चले अन्तरिम आदेश नदिएपछि उपेन्द्र यादवले जसपाको आधिकारिकता पाएको विषयले कानुनी रुपमा समेत वैधता पाएको छ।
निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई पार्टीको आधिकारीकता दिएपछि आयोगले गरेको निर्णय खारेजीको मागदाबीसहित महन्थ ठाकुरले साउन १५ गते (शुक्रबार) सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
रिटमा महन्थ ठाकुरको निर्णयानुसार २०७८ असार १ गते पेस भएको पदाधिकारी हेरफेरलाई अध्यावधिक गरी मान्यता प्रदान गर्नू भनी आयोगको नाममा परमादेशको आदेश जारी गर्ने मागदाबी गरिएको थियाे ।




प्रतिक्रिया