काठमाण्डु- जनअधिकार अभियान नेपालले दार्चुलाका जयसिंह धामी भारतीय सीमा सुरक्षा बल(एसएसबी) का सुरक्षाकर्मीले तुइन फुकालिदिएको कारणले महाकाली नदीमा खसी बेपत्ता भएको निष्कर्ष निकालेको छ ।
साउन १५ गते व्याँस गाउँपालिका–२ का ३३ वर्षीय धामी महाकाली नदीमा बेपत्ता भएको घटनास्थलमा पुगेर गरेको अध्ययन तथा प्राप्त तथ्यहरूको आधारमा अभियानले प्रतिवेदन सार्वजनिक गरेको हो ।
बुधबार अभियानले राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी दार्चुला प्रकरण भारतीय सुरक्षाफौजको दादागिरी भएको उल्लेख गरेको छ । साथै महाकाली घटना गम्भीर, अक्ष्यम्य र मानवता विरोधी अपराध भएको बताएको छ ।
एकराज भण्डारी अध्यक्ष रहेको अभियानले जयसिंह धामीको अवस्था तत्काल पत्ता लगाएर परिवारलाई जिम्मा लगाउन तथा कुुटनीतिक पहल गरी दोषीलाई कानुनको दायरामा ल्याउन सरकारको ध्यानाकर्षण समेत गराएको छ । अभियानले साउन १५ गते भएको सो घटनाका सन्दर्भमा साउन २० देखि २४ गतेसम्म स्थलगत भ्रमण गरेर सरोकारवालासँग प्रत्यक्ष भेटघाट, छलफल तथा अध्ययन गरेको थियो ।









प्रतिक्रिया