श्वेतपत्रमा कुनै आग्रह र पूर्वाग्रह रहेको भए कठघरामा उभिन तयार छुः अर्थमन्त्री शर्मा

श्वेतपत्रमा कुनै आग्रह र पूर्वाग्रह रहेको भए कठघरामा उभिन तयार छुः अर्थमन्त्री शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अर्थमन्त्री जनार्दन शर्माले कुनै पनि तथ्याङ्क राजनीतिक पूर्वाग्रह राखेर प्रस्तुत नगरेको जिकिर गरेका छन् ।

वर्तमान आर्थिक अवस्थाको जानकारी प्रस्तुत गरिसकेपछि त्यसबारे सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री शर्माले विगत सरकारले गरेका राम्रा कामहरुको तथ्याङ्क पनि समावेश भएको जानकारी दिए ।

मन्त्री शर्माले श्वेतपत्रमा कुनै आग्रह र पूर्वाग्रह र डेटामा फरक रहेको भए आफू कठघरामा उभिन तयार रहेको बताए ।

‘मैले देशको आर्थिक अवस्थाको जानकारी भनेको छु, त्यसमा कुनै आग्रह, पूर्वाग्रह छैन, यहाँ सडक कति लामो खनियो, कति वटा पुल बनाइयो भन्ने कुरा उल्लेख गरिँदैन,’ उनले भने, ‘यसमा आर्थिक विकास र प्रगतिको के अवस्था छ, पूँजी निर्माण कसरी भइरहेको छ, ऋणको अवस्था के छ, सञ्चितिको अवस्था के छ भन्ने विषय प्रस्तुत गर्नुपर्ने भएकोले डेटामा जे छ त्यही प्रस्तुत गरेको छु ।’

मन्त्री शर्माले जिम्मेवार भएर लोकतन्त्रलाई स्वीकार गर्ने भएकोले संसदमा बजेट पेश गरिएको बताए । प्रदेश र स्थानीय तहको अधिकार कहीँ कतै संकुचित भएको भए प्रतिस्थापन विधेयकद्वारा सच्याइने उनको भनाइ छ ।

आग्रह र पूर्वाग्रहमा निकट र टाढाको नातामा वा गुट र अर्कोको नातामा यो सरकारले बजेट विनियोजन नगर्ने समेत स्पष्ट पारे।