काठमाण्डु – शेरबहादुर देउवा नेतृत्वमा सरकार गठन भएको आज एक महिना पुरा भएको छ । तर, अहिलेसम्म मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छैन् । यसअघि सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक भएपछि मन्त्रिपरिषद्ले पूर्णता पाउने गठबन्धन दलका नेताहरुले बताउँदै आएपनि दलहरूबीचकाे असमझदारीका कारण मन्त्रिपरिषदले पूर्णता पाउन नसकेकाे हाे ।
गठबन्धनका नेताहरूले नेकपा एमालेको माधव नेपाल समूहलाई पर्खिएको बताए पनि खासमा कांग्रेस, माओवादी र जसपा नेतृत्वले नै ढिलाइ गरिरहेको स्राेतले जानकारी दियाे । कांग्रेस महाधिवेशनको अन्योलले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भइरहेका देउवा निकट स्रोतले बताएको छ । उपप्रधानमन्त्री बनाउने वा नबनाउने भन्ने विषयमा गठबन्धनका दलहरुबीच विवाद छ । कांग्रेस, माओवादी र जसपाका नेताहरू उपप्रधानमन्त्रीको हैसियतमा सरकारमा जान चाहन्छन् । तर, प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने उपप्रधानमन्त्री नै नराख्ने पक्षमा छन् ।
गठबन्धनबीच कुन पार्टीले कति मन्त्रालय लिने भन्ने विषय पनि टुंगिन नसक्दा सरकारले पूर्णता पाउन नसकेको माओवादीका नेता देव गुरुङले बताए । संविधानअनुसार २५ सदस्यीय मन्त्रिपरिषद् मात्रै बनाउन सकिन्छ । त्यसमा पनि अहिले प्रधानमन्त्रीसहित २२ मन्त्री र तीन राज्यमन्त्री मात्रै बन्न सक्छन । अहिले कांग्रेसले ९, माओवादीले ८ र जसपाले ७ मन्त्रालयमा दाबी गरेका छन ।
लामो समय विभागीय मन्त्री अभावमा सरकारमा कतिपय काम कारबाही रोकिन पुगेका छन् । सचिव तहबाट हुने प्रशासनिक काम निरन्तर रहे पनि मन्त्रिस्तरीय कार्य प्रभावित बन्न पुगेका छन् । एक महिनाअघि प्रधानमन्त्रीमा नियुक्त देउवाले १७ वटा मन्त्रालय सम्हाल्दै आएका छन् ।हाल कांग्रेसबाट १ राज्यमन्त्री र २ जना मन्त्री छन् भने माओवादी केन्द्रबाट २ जना मन्त्री सरकारमा सहभागी छन् ।




प्रतिक्रिया