काठमाण्डु – लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले नेकपा एमालेका पूर्व सांसदलाई प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गरेका छन् ।
गत बैशाख २२ गते नेकपा एमालेको प्रदेशसभा सदस्यबाट राजीनामा दिएका अमरबहादुर डाँगीलाई मुख्यमन्त्री केसीले प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गरेका हुन् । डाँगीले सांसद पदबाट राजीनामा दिएपछि पोखरेल नेतृत्वको सरकार अल्पमतमा परेको थियो ।
बिहीबार मुख्यमन्त्रीको सपथ लिएलगत्तै केसीले उनलाई प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गरेका हुन् । उनले सहायक राज्यमन्त्री सरहको सेवा सुविधा पाउने सरकारका प्रवक्ता कृष्णध्वज खड्काले जानकारी दिए ।
डाँगी दाङ क्षेत्र नम्बर २ ‘ख’ बाट निर्वाचित भएका थिए । सांसदबाट राजीनामा दिएका डाँगीलाई आफूहरुले स्वागत गर्ने माओवादीले जनाएको थियो ।
लुम्बिनीमा सत्ता गठबन्धन माओवादी केन्द्र, नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाको संयुक्त सरकार बनेको छ । चार दलको समर्थनमा केसी मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।
८० सदस्यीय लुम्बिनी प्रदेशसभामा नेकपा एमाले ३८, नेपाली कांग्रेस १९, माओवादी केन्द्र १८, जसपाका ३ र जनमोर्चाका १ जना सांसद रहेका छन् ।




प्रतिक्रिया