काठमाण्डु – निर्वाचन अयोगले माधव नेपाल र महन्थ ठाकुर पक्षलाई नयाँ दल दर्ता प्रकियाका लागि सनाखत गराउँदैछ । आयोगले प्रस्तावित नेकपा एकीकृत समाजवादी र जनता समाजवादी लोकतान्त्रिक पार्टी दर्ता प्रक्रियाका लागि आज बिहान ११ः३० बजेदेखि २ बजेसम्म सनाखतको समय ताकेको छ ।
प्रस्तावित नेकपा एकीकृत (समाजवादी) एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल नेतृत्वको हो भने लोकतान्त्रिक समाजवादी पार्टी जसपाका नेता महन्थ ठाकुर नेतृत्वको हो । सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेलगत्तै नेपालले नेकपा एमाले र ठाकुरले जसपा पार्टी फुटाएर नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका हुन् ।
अध्यादेश अनुसार नयाँ दल दर्ताका लागि संघीय संसद् वा केन्द्रीय सदस्यको २० प्रतिशत हुनुपर्छ । त्यसमा ५७ केन्द्रीय सदस्यको नामावली उल्लेख गरिएको थियो । अध्यादेश अनुसार २० प्रतिशत बनाउन २ सय ३ सदस्यीय एमाले केन्द्रीय सदस्यमध्ये ४१ जनाको समर्थन आवश्यक छ ।
त्यसैगरी, जसपा (लोकतान्त्रिक)मा पार्टीका ३७ सांसद मध्ये ठाकुरको पक्षमा १४ जना सांसदहरू हुनुपर्ने हुन्छ । नयाँ दल दर्ताका लागि दिएको निवेदन ऐनले तोकेबमोजिम कागजात र विवरण संलग्न छ कि छैन भनेर हेरेर दर्ताका लागि प्रक्रिया अघि बढाउनुपर्ने प्रावधानअनुरूप सनाखतको प्रबन्ध मिलाइएको आयोगले जनाएको छ ।




प्रतिक्रिया