अमेरिका जान नक्कली प्रमाणपत्र बनाउने गिराेह प्रहरी खोरमा

अमेरिका जान नक्कली प्रमाणपत्र बनाउने गिराेह प्रहरी खोरमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरीले अमेरिका जाने ‘डिभी’ चिट्ठा परेपछि नक्कली प्रमाणपत्र बनाउने तथा सहयोगीको भूमिका निर्वाह गर्ने ८ जनालाई पक्राउ गरेको छ ।

 

 

 

डिभि चिट्ठा परेपछि नक्कली प्रमाणपत्र बनाउने सिन्धुलीको तीनपाटन–४ का रुद्रबहादुर मोक्तान, ताप्लेजुङको खेवाङ–२ का भुवानीप्रसाद भट्टराईलाई अपराध महाशाखामा कार्यरत प्रहरी निरीक्षक रोशन खड्का नेतृत्वको टोलीले पक्राउ गरेको हो।

 

 

यसैगरी, सो कार्यमा सहयोगीको भूमिका निर्वाह गर्ने सत्यविनायक कम्युनिकेशनका सञ्चालक कालीकोटको तिलागुफा–६ का विशालजंग शाही, कालीकोटको तिलागुफा–५ का सुरेशबहादुर शाही, सुनसरी, धरान नगरपालिका–११ का अभय पोखरेल, स्क्युर्ड लाइफ कन्सल्टेन्सीमा काम गर्ने काठमाडौँ–४ चण्डोलका अनिल श्रेष्ठ, काभ्रेपलाञ्चोकको महाभारत–१ का देवराज तामाङ र काठमाडौँ मनमैंजु–२ का सन्तोषकुमार तिवारी पनि प्रहरी हिरासतमा पुगेका छन्।

 

 

 

 

उनीहरुले नेपालस्थित दूतावासमा पेश गरेको प्रमाणपत्र शंकास्पद लागेपछि दूतावासले सो सम्बन्धी जानकारी प्रहरीलाई दिएको महानगरीय अपराध महाशाखाका प्रमुख दिवस लोहनीले बताए। दूतावासले दिएको सूचनाका आधारमा प्रहरीले छानबिन अघि बढाएको थियो।

 

 

मोक्तानले नक्कली प्रमाणपत्र बनाउन तीन लाख ५० हजार र भट्टराईले ९० हजार तिरेको लोहनीले जनाए।

 

 

नगद रकम लिई सरकारी छाप दस्तखत कीर्ते गरी १० दुई जोड उत्तीर्णा गरेको प्रमाणपत्र, ‘माइग्रेसन’, ‘प्रोभिजनल’, ‘ट्रान्सकृप्ट’, राष्ट्रिय परीक्षा बोर्डको प्रमाणपत्र लगायतका कागजपत्र नक्कली बनाएको अनुसन्धानले देखाएको छ।