काठमाण्डु – नेकपा एमाले विभाजन भएपछि सांसदहरु नयाँ पार्टीमा खुल्नेक्रम जारी छ । बिहीबारसम्म गण्डकी र प्रदेश २ बाहेक पाँच वटा प्रदेशका ३६ जना एमाले सांसदले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी राजेका हुन् ।
३६ सांसदमध्ये सबैभन्दा बढी बागमती प्रदेशमा १२ सांसदले एसको पक्षमा सनाखत गराएका छन् । बागमती प्रदेश सभामा एमालेका ५६ जना सांसद निर्वाचिन भएका थिए । त्यसमध्ये दोलखाका पशुपति चौलागाईको कोरोनाभाइरसको संक्रमणबाट निधन भएको थियो । बाँकी ५५ जनामध्ये १२ जना माधव नेपालले खोलेको नयाँ पार्टीमा लागेका हुन् ।
त्यस्तै प्रदेश १ मा पनि १० सांसदले नयाँ पार्टी रोजेका छन् । नयाँ पार्टी रोज्ने सांसदमा राजेन्द्र राई, राजन राई, गणेश काङ्माङ, उपेन्द्र घिमिरे, सावित्रा रेग्मी, खिनु लङ्वा लिम्बू, कृष्णकुमारी राई, पदमकुमारी गुरुङ, सुनिता चौधरी र सरिता थापा रहेका छन् । एमालेका ५१ सांसदमध्ये १० जनाले नयाँ पार्टी रोजेपछि प्रदेश १ मा भीम आचार्य नेतृत्वको सरकार अल्पमतमा परेको छ ।
अझै पाँचदेखि सात जनासँग सल्लाह भइरहेको सांसद राजेन्द्र राईले बताए । यसैगरी कर्णाली प्रदेशमा एमालेका २० सांसदमध्ये तीन जना सांसदले नयाँ पार्टी राजेका छन् । सांसद देवी ओली, चन्द्रबहादुर शाही र पदमबहादुर रोकायाले एकीकृत समाजवादीमा सनाखत गरेका हुन् ।२० सांसदमध्ये माधवकुमार नेपाल पक्षका चार जना सांसदलाई भने अध्यक्ष केपी शर्मा ओलीले कारबाही गरिसकेका छन् ।
लुम्बिनीमा भने एमाले एक जना सांसदले मात्रै नयाँ पार्टी रोजेका छन् । उपसभामुख रमा घर्तीमगरले एकीकृत समाजवादीमा सनाखत गरेकी हुन् । त्यस्तै, सुदूरपश्चिम प्रदेश सभामा एमालेका २४ सांसदमध्ये १० जनाले एकीकृत समाजवादीमा सनाखत गरेका छन् । अझै केही सांसद नयाँ पार्टीमा आउने एकीकृत समाजवादीकी नेत्री पूर्णा जोशीले बताइन् ।
प्रदेश २ र गण्डकी प्रदेश सांसदका सांसदले भने हालसम्म नयाँ पार्टीमा सनाखत गरेका छैनन् ।




प्रतिक्रिया