काठमाण्डु– सरकारले हुम्लाको नाम्खामा ‘विवादित’ नेपाल–चीन सीमाबारे अध्ययन गर्न सहसचिव जयनारायण आचार्यको संयोजकत्वमा समिति गठन गरेको छ । आचार्य सप्तरीमा प्रमुख जिल्ला अधिकारी छन् ।
उनको ठाउंमा जनार्दन गौतमलाई सप्तरी पठाउने निर्णय समेत गृहमन्त्रालयले गरेको छ । गौतम दार्चुलामा एसएसबीले तुईन काटेको घटनाबारे छानविन गर्नको लागी बनेको समितिका संयोजक थिए ।
समितिमा रहने अन्य सदस्यहरुको नाम पठाउन समेत पत्रचार भइसकेको छ । आइतबार त्यसको टुंगो लाग्नेछ । समितिमा तीन वटै सुरक्षा निकायका एसएसपी तहका अधिकारीलाई राख्ने तयारी भएको छ भने नापी विभागका अधिकारी समेत समितिमा सदस्य रहनेछन् ।
नाम्खा गाउंपालिका वडा नम्बर ५ र ६ स्थित नेपाल–चीन सीमा अध्ययन गर्न मन्त्रिपरिषदको भदौ १६ गते बैठकले समिति गठन गरेको थियो । काठमाण्डुस्थित चिनियां दूतावासले भने शुक्रबार विज्ञप्ति जारी गर्दै नेपालसंग सीमा विवाद नरहेको दावी गरेको थियो । त्यसका साथै परराष्ट्रमन्त्रालयले यसबारेमा स्पष्ट पारिसकेको चिनियां दूतावासले जनाएको थियो ।
चीनसंगको सीमा समस्या नभएपनि सरकारले एमसीसी पारित गर्न र भारतिय सुरक्षा बल एसएसवीले तुइन काट्दा नेपाली नागरिक जयसिंह धामी वेपत्ता भएको घटनालाई डाईभर्ट गर्न यो मुद्दाले अघि ल्याएको भन्दै सरकारको चौतर्फी आलोचना सुरु भएको छ ।




प्रतिक्रिया