काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) कदापी राजनीतिक शक्ति बन्न नसक्ने दाबी गरेका छन् ।
प्रदेश २ को जसपा संसदीय दलको बैठकमा बाेल्दै अध्यक्ष यादवले महन्थ ठाकुरले मधेसमा लोभ, लालच र भ्रमको खेती गरिरहेको भन्दै लोसपा राजनीतिक शक्ति बन्न नसक्ने दाबी गरेका हुन् ।
‘जुन दिन महन्थ ठाकुर र राजेन्द्र महतो लगायतका केही नेताहरु केपी शर्मा ओलीको पछि लागे, त्यस दिन नै उनीहरूको पतन भइसक्यो,’ उनले भने, ‘लोसपाले मधेसमा लोभ, लालच र भ्रमको खेती गरिरहेको छ । यो कदापी राजनीतिक शक्ति बन्न सक्दैन ।’
उनले ठाकुर नेतृत्व गठन भएको लोसपा राजनीतिक दल नभई केपी शर्मा ओलीको मतियार रहेको आरोप लगाए । साथै उनले तत्कालीन राजपा र तत्कालीन समाजवादी पार्टीबीच एकीकरण भई गठन भएको जसपामा अझै पनि पूर्व राजपाका ८० प्रतिशत नेता कार्यकर्ता रहेको दाबी गरे ।




प्रतिक्रिया