काठमाण्डु – बागमती प्रदेशसभामा सहभागी राजनीतिक दलको संख्या ८ पुगेको छ । आज माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी प्रदेशसभा सचिवालयमा दर्ताभएसँगै बागमती प्रदेशसभामा आवद्ध दलको संख्या ८ पुगेको हो ।
निर्वाचन आयोगले प्रदेशसभामा नयाँ दल प्रवेश सम्बन्धमा नेकपा एसलाई आजै दलको मान्यता दिएको थियो । यससँगै बागमती प्रदेशसभामा अब सबैभन्दा ठुलो दल ४३ सांसदसहित नेकपा एमाले, दोस्रो दल २३ सांसद्का साथ नेकपा माओवादी केन्द्र, २२ सांसद् रहेको नेपाली कांग्रेस तेस्रो, १३ सांसद् भएको नेकपा एकीकृत समाजवादी चौथो दल बनेको छ ।
यस्तै, ३ सांसद् रहेको विवेकशील साझा पार्टी पाँचौं, २/२ सांसद् रहेका राप्रपा र नेमकिपाका क्रमशः छैठौं र सातौं स्थानमा रहेका छन् भने एक स्वतन्त्र सांसद् रहेका छन् । उनी जसपा निकट रहेका छन् ।
बागमती प्रदेशसभा सचिवालयमा नेकपा एमालेको विभाजनपछि नयाँ दल नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका १३ जना सांसदहरुलाई आयोगले मान्यता दिँदै नामावलीसहितको पत्र दर्ता भएको हाे ।
नेकपा एमालेको विभाजनपछि सांसदहरु राजेन्द्र पाण्डे, बसन्त मानन्धर, बसुन्धारा हुमागाई, रामा आलेमगर, मुनु सिग्देल, इन्द्रमाया गुरुङ, लक्ष्मण लम्साल, राजेन्द्रमान श्रेष्ठ, माधवप्रसाद पौडेल, कृष्णप्रसाद खनाल, पार्वती सिलवाल, कुसुम कुमार कार्की र मीना ज्ञवालीले एमाले त्यागेर नेकपा एसमा सनाखत गरेका थिए ।






प्रतिक्रिया